काठमाडौं । वीर अस्पताल । एक तलामाथि क्याबिन नं ७ । बेडमा भगवान् शिवको तस्बिर राखिएको छ । गणेशको सानो मूर्ति अनि सँगै आफ्ना दिवङ्गत श्रीमान् नन्दप्रसाद अधिकारीका बारेमा पत्रपत्रिकामा प्रकाशित समाचारका कटिङ । सेतो सट, घाँटीमा रुद्राक्षका दुई माला अनि हात र खुट्टामा वर्षांैदेखि नकाटिएका लामा लामा नङ । मुहारमा न्यायको आशा अनि बोलीमा न्याय नपाएसम्म अनशन नतोड्ने दृढता । बेडमा अडेस लगाएर विगत पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको अहिलेको अवस्था हो यो ।
विसं २०६१ आजकै दिन गङ्गामायाका १७ वर्षे छोरो कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । आफ्ना छोराको हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका अधिकारी दम्पतीले आफूहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले त्यहीँ अनशन सुरु गरे ।
प्रहरी प्रशासनले अधिकारी दम्पतीलाई कमलपोखरी प्रहरी चौकीमा लगी ३९ दिन थुनेपछि उनीहरुले भोक हडताल सुरु गरेका थिए । भोक हडताल सुरु गरेपछि उनीहरुलाई जबर्जस्ती वीर अस्पतालको आकस्मिक कक्षमा राखेर अनशन तोडाउने प्रयत्न गरिए पनि त्यो सफल हुन सकेन । परिणाम २०७१ साल असोज ६ गते नन्दप्रसादको मृत्यु भयो ।
नन्दप्रसादको शव अहिले पनि टिचिङ अस्पतालमा नै रहेको छ । नन्दप्रसादको शवको दाहसंस्कार अहिले नगर्ने भन्दै उनले भनिन्, “मेरा श्रीमान्को मृत्यु भएर के भो त उहाँको शवले मलाई अनशन गर्न साथ दिइरहेको छ ।” श्रीमान्को मृत्यु भए पनि गङ्गामायाले आफ्नो अनशन तोड्न चाहिनन्। उनी अहिले पनि वीर अस्पतालमा अनशनरत छिन् । न्यायको पर्खाइमा । “पानी खाएर जति दिन बाँच्न सक्छु, त्यति दिन बाँचौँला”– उनले भनिन्, “न्यायका लागि अनशन गर्दागर्दै श्रीमान् बिते अब म पनि यत्तिकै मर्न परे मरौँला तर न्याय नपाई अनशन तोड्दिन ।”
न्याय नपाई अनशन नतोड्ने सङ्कल्प लिएका गङ्गामायाले भनिन्, “मलाई न्याय दिलाउन नसक्ने सरकारको इज्जत के रहला ? पाँच वर्षसम्म अन्नको दाना पनि मुखमा नहाली यसरी न्याय माग्ने त कमै होलान् । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि कहाँ रहला अझै पनि न्याय दिँदैन भने ।” अनशन बसेदेखि मिडियासँग त्यति कुरा गर्न नरुचाउने गङ्गामायाले आज आफैँले पत्रकारसँग कुरा गर्छु भनेपछि मानवअधिकारकर्मीले त्यसको व्यवस्था मिलाएको मानवअधिकारकर्मी चरण प्रसाईंले बताए । उनले सरकारको रवैयाको विरोध गर्दै भने, “माओवादीले छोरा मा¥यो, काँग्रेसले बुढा अब एमालेले मलाई मार्छ होला ।”
कृष्णप्रसादको हत्याको मुद्दा हेरिरहेकामध्ये एक अधिवक्ता पुष्पराज पौडेलका अनुसार कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरूद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एमाओवादी नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सो मुद्दा अझै अदालतमा अनिर्णित छ । आगामी असार १२ गते अदालतमा पेसी रहेको अधिवक्ता पौडेलले जानकारी दिए ।
सो मुद्दाको फैसला आउन बाँकी रहेकाले न्यायको पर्खाइमा पानीमात्र खाएर भए पनि अनशनमा बस्ने तर अनशन भने नतोड्ने गङ्गामायाले बताए । विभिन्न अन्तर्राष्ट्रिय मानवाधिकार सम्बद्ध सङ्घसंस्थाले समेत गङ्गामायालाई न्याय दिलाई उहाँको मानवाधिकार रक्षा गर्न आग्रह गरेका थिए ।








