अछाम जिल्ला बाढीपहिरोको उच्च जोखिममा

NepalAchhamDistrictmapजेठ १९। अछाम, अछाम जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाका अधिकांश भूभागमा भिरालो, सुक्खा र नाङ्गो जमिन बढी रहेका कारण जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको हो ।

भूविपद् व्यवस्थापनका लागि युनिसेफ नेपालको सहयोगमा हिमालय कन्जर्भेसन ग्रुपले गरेको अध्ययनले जिल्ला प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताइएको छ ।

जिल्लाका मुली, पायलर, घोडासैन, दर्ना, कुइका, खप्तड लगायतका गाविस अति उच्च जोखिममा रहेको पाइएको छ भने जिल्ला नै उच्च जोखिमको अवस्थामा रहेको भूगर्भशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक, भूविपद् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता डाक्टर रञ्जित दाहालले बताएका छन् ।

जिल्लाको जमिनको अधिकांश भाग भिरालो हुनु, वातावरणीय अध्ययन बिना सडक सञ्जालको निर्माण हुनु, वनजङ्गल मासिँदै जानु, जनसङ्ख्या बढ्दै जानुले माटोको कटान वार्षिक प्रतिहेक्टर जमिनमा १० प्रतिशतले कटान हुने गरेकाले जिल्लाको वातावरणीय प्रभावमा समेत असर पुग्नजाने अवस्थाको सृजना भएको भूसंरक्षण र जलाधारको क्षेत्रमा अनुसन्धान गरिरहेका डाक्टर कृष्णबहादुर कार्कीले बताउनु भएको छ । जिल्ला भूसंरक्षण कार्यालय अछामले गरेको एक अध्ययनले समेत जिल्लाको अधिकांश क्षेत्र बाढीपहिरोको जोखिममा रहेको जनाएको छ ।

जिल्लाको भौगोलिक अवस्था, भूउपयोगको आधार, जङ्गलको विनाश, पानीका मुहान सुक्नु र जमिनमा माटोको कटान बढिरहेकाले जिल्ला बढी जोखिममा रहेको र जोखिम न्यूनीकरण गर्न केही प्रयास जिल्लामा भएको भएपनि स्रोतको अभावका कारण पर्याप्त प्रयास गर्न मात्र होइन जिल्लावासीलाई जनचेतना जगाउने खालका कार्यक्रम समेतमा सञ्चालन गर्न समस्या भइरहेको जिल्ला भूसंरक्षण अधिकृत शिवप्रसाद पोखरेलले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु