सिन्धुपाल्चोक । बिनासकारी भूकम्पपछि बन्द तातोपानी भन्सार नाका नखुल्दा यहाँका होटल व्यवसायीहरूको पेशा धरापमा परेको छ । नाका बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटक र तातोपानीमा सामान ओसार्न आउने कन्टेनर नआउँदा होटल व्यवसायीको पेशा संकटमा परेको हो ।
नाका बन्द भएर तातोपानी क्षेत्र सुनसान भएपछि यहाँका होटल व्यवसायीहरु काठमाडौँ लगायत देशका बिभिन्न शहरमा पलायन हुन थालेका छन् । भूकम्पपछि तातोपानी भन्सार लामो समयसम्म पनि नखुल्दा होटल व्यवसायीहरु पलायन हुन थालेको व्यवसायीहरू बताउँछन् ।
तातोपानीमा लामो समयदेखी होटल व्यवसाय गर्दै आइरहेकी निमा शेर्पाले पनि भूकम्पपछि एकदिन पनि होटल खोलेकी छैनन् । भूकम्प आएको तीन दिनपछि काठमाडौं बौद्धमा गएर बसेकी निमा मंसीरमा मात्र तातोपानी फर्केकी हुन् । तातोपानी फर्केपछि पहिलेको जस्तो ग्राहकहरू आउनै छाडको उनले बताइन् । उनले भनिन्, “पहिला होटलमा अटाई नअटाई ग्राहकहरु आउँथे । भूकम्पपछि त भन्सार नै सुक्यो । ग्राहकहरु आउनै छोडे अनि होटल बन्द गर्नै पर्यो नि ।”
भूकम्प अगाडि सदाझैं प्याक हुने फेमली गेष्ट हाउस पनि वर्ष दिनदेखि बन्द छ । स्वदेशी, विदेशी पर्यटकले प्याक हुने सो होटलमा अहिले ताला लगाइएको छ । होटल खोल्ने मनशायमा नरहेको सञ्चालक कामी शेर्पाले बताए ।
तातोपानी नाका सुचारु भएको बेला यहाँको होटलमा कोठा पाउन मुस्किल हुन्थ्यो । तर, अहिले अधिकांश होटलहरु बन्द भइसकेका छन् ।
भूकम्पपछि तातोपानी धारामा नुहाउन आउने भक्तालु पनि आएका छैनन् । जसबाट तातोपानी धारा व्यवस्थापन समितिलाई करोडौँ नोक्सान भएको छ । प्रत्येक वर्ष देश विदेशका हजाराँै भक्तालु तातोपानी धारामा नुहाउन आउँथे ।
करिव पाँच सयको हाराहारीका साना ठूला होटल रहेको तातोपानीमा अहिले मुस्किलले पाँचवटा साना होटल संचालनमा रहेका छन् ।








