काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउन सरकारबाट घोषित कार्यक्रम लागू गर्न माग गर्दै आज यहाँ म्याराथुन दौड आयोजना गरेको छ ।
सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने उल्लेख छ । अनेरास्ववियु ५२ औँ स्थापना दिवसका अवसरमा गरिएको म्याराथुन दौड अध्यक्ष नविना लामाको नेतृत्वमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धरा, नयाँ सडक हुँदै वसन्तपुरमा पुगेर सामाजिक कार्यमा परिणत भएको थियो । दौडमा करिब ५०० सहभागी थिए । विसं. २०२२ जेठ १ गते अनेरास्ववियुको स्थापना भएको थियो ।
सङ्गठनको स्थापना दिवसका साथै आइतबारदेखि बस्ने पहिलोे पूर्ण केन्द्रीय कमिटीको बैठकको प्रचार गर्ने उद्देश्यले पनि दौड गरिएको जनाइएको छ । दौडको समापनमा वसन्तपुर र आसपास क्षेत्रमा सफाइ गरिएको थियो । प्राचीन सम्पदास्थल संरक्षणका लागि सन्देश प्रवाह गर्न उक्त क्षेत्रमा सफा गरी फोहर व्यवस्थापन समेत गरिएको थियो ।
सङ्गठनका सचिव आरसी लामिछानेले विद्यार्थीको शैक्षिक प्रमाणपत्रबाट ऋण प्राप्त गर्ने व्यवस्था विद्यार्थी आन्दोलनको ठूलो उपलब्धि भएको बताउँदै त्यो कार्यान्वयनमा आउनुपर्ने बताए ।








