टोटनह्यामको उपाधि होड कमजोर

totanham...लण्डन । वेष्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेपछि इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको टोटनह्याम हट्स्परलाई उपाधि दाबेदारीमा गम्भीर झड्का लागेको छ । सोमबार राति घरेलु मैदानमा वेष्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि दोस्रो स्थानको टोटनह्यामको उपाधि दाबेदारी कमजोर बनेको हो ।

वेष्ट ब्रोमसंग टोटनह्यामले अंक बाडेपछि त्यसको फाइदा भने शिर्ष स्थानको लिसेस्टर सिटीलाई भएको छ । साथै टोटनह्यामले शीर्ष स्थानको लिसेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याउने मौका गुमाएको छ । लिगका तीन खेल बाँकी हुँदा टोटनह्यामको ६९ अंक भएको छ भने शीर्ष स्थानको लिसेस्टरको ७६ अंक छ । लिसेस्टर सिटीले अब एक खेल मात्रै जिते उपाधि पक्का गर्ने छ । टोटनह्यामलाई बराबरीमा रोकेको वेष्ट ब्रोम ४१ अंक सहित १३ औं स्थानमा छ ।

टोटनह्यामको घरेलु मैदान व्हाइट हर्ट लेन स्टेडियममा दुवै गोल वेष्ट ब्रोमका क्रेग डवसनले गरे । खेलको ३३ औं मिनेटमा क्रेग डवसनले आत्मघाती गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफमा १–० ले पछि परेको वेष्ट ब्रोमका लागि क्रेग डवसनले नै बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए । खेलको ७३ औं मिनेटमा डवसनले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।

सम्बन्धित शिर्षकहरु