‘झण्डा बोकेर’-महेश्वर शर्मा

महेश्वर शर्मा ,
सिड्नी अष्ट्रेलिया
12380416_10206236390297563_1493745342_n
‘झण्डा बोकेर’

हरेक बिहानको
सूर्य उदय सँगै
रंङ्गिएका व्यानर,पम्पेल्ट
झण्डा र दलको चर्को आवाज
जिन्दाबाद र मुर्दाबाद सँगै
अस्ताएको सूर्यले
भोलिका मेरा सन्ततिको
कलिलो मष्तिस्कमा
जिन्दाबाद र मुर्दाबादको
घण्टी बजाइरहेछ
कलिला हातहरुले
दलको झण्डा बोकिरहँदा
म अधिकारको गित गाइरहेछु
कर्तव्य बर्सिरहेछु
र आज फेरी उहि सूर्य
उदाएछ दलको झण्डा बोकेर।

हरेक चोक,गल्ली शहर
र बस्तिमा
मेरा आफन्तहरु
दलको झण्डामुनि बसि
भजन गाइरहँदा
म सिङ्गो देशको एक नेपाली हुँ
भन्दा मलाइ डर लाग्यो
किनभने मलाई थाहा छ
भोलि फेरी सूर्य उदाउनेछ
दलको झण्डा बोकेर।

मेरो दाजुभाई
कित्तामा आफ्नो जमिन
खोजिरहँदा
भत्किएको चर्किएको र
रोइरहेको मेरो बस्तिमा दल
र संघको बिल्ला टाँसिदा
म नेपाली हुँ भन्न डराएँ
किनभने मलाई थाहा छ
हिजोको सूर्य उदाएको थियो
दलको झण्डा बोकेर।

देश बनाउन शहर पसेका
ए महाशय
तिमी त अझै भन्दैछौ
देशको महार फेरीयो
रङ फेरीयो
र पुरानो नेपाल फेरीयो
म कसरी मानौँ
कलिला कोपिलाहरु
शिक्षाको मुहार नदेख्दै
ओईलाउनु पर्दा
पिँढीमा रोईरहेकी आमा खान नपाई
तड्पीरहँदा
सेतै फूलेका वुबा
जीवन भर भारी बोकिरँदा
म सक्दिन फेरीएको रङ् भन्न
फेरीएको देश भन्न र मुहार भन्न
किन भने
तिमिले फेरेको रङ्
र देशमा सूर्य उदाएको थियो
तिम्रै झण्डा बोकेर।

अब त हरेक सूर्य उदयको बिहान
यस्तो भईदिए हुन्थ्यौ
जुन बिहानले मेरा सन्ततिहरु
सगर्वले नेपाली भन्न पाउन
र भोलिको सूर्य उदय होस
देशको झण्डा बोकेर।

सम्बन्धित शिर्षकहरु