अष्ट्रेलिया, आँट, साहस र लगनशीलता छ भने के हुदैन भन्ने चरितार्थ गरेकी छन् एक नेपाली मूलकी चेलीले । अष्ट्रेलियामा ती चेलीले फरक विधामा सनसनी मच्चाएकी हुन् ।
१३ मार्चमा अस्ट्रेलियाको आइएनबिए मेलबर्नले आयोजना गरेको विश्वस्तरको राइजिङ स्टार एण्ड रोक्की अफ द इयर च्याम्पियनसीप फिजिकल फिटनेस प्रतियोगितामा सबै राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रतियोगीलाई पछार्दै नेपाली मूलकी चेली प्रकृति श्रेष्ठले दुई स्वर्ण र एक रजत पदक हात पारेपछि विश्वभर ती चेलीको प्रशंसा भएको हो ।
अस्ट्रेलियाको सिड्नीमा बसोबास गरिरहेकी प्रकृति श्रेष्ठ सन् १९९६ मा अस्ट्रेलिया आएकी हुन् । उनको सम्पूर्ण परिवार सिड्नीमा बस्दै आएको छ । प्रकृतिको परिवारमा उनका दुई भाइ र आमाबुबा रहेको बताइएको छ । प्रकृति ब्याचलर तहको अध्ययन पश्चात अस्ट्रेलियाकै ओप्टस टेलिकम्युनिकेशनमा विगत १२ वर्षदेखि टेक्निकल म्यानेजरमा कार्यरत रहँदै आएकी छन् ।
सानैदेखि तीक्ष्ण प्रतिभाकी धनी प्रकृति सधैं नयाँ कुरा गर्ने मन पराउने बताउँछिन् । सोही कारण उनी यस क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले भनिन्, ‘नेपाली मूलका महिलाको सहभागिता कम देखेर र यसै विधामा पहिलो नेपाली मूलका पुरुषतर्फका विजेता सन्तोष श्रेष्ठको सल्लाहमा म यस प्रतियोगितामा सहभागी भएको हुँ ।’
सहभागिता जनाएको पहिलो पटकमा नै २/२ वटा स्वर्ण र एक रजत पदक जित्नका लागि आफूले अथक मेहनेत गरेको उनको भनाइ छ ।








