ओझेलमा पर्यो निजामती किताबखाना

kitabkhanaकाठमाडौं, निजामती कर्मचारीका सबै विवरण कम्प्युटरमा विद्युतीय अभिलेखीकरण गर्दै आएको निजामती किताब खाना तालुकदार मन्त्रालयको सहयोग र समन्वयको अभावमा ओझेलमा परेको छ ।

नेपालभरका ८१ हजार ६४३ कर्मचारीका सम्पूर्ण विवरण वेवसाइट पिआइएस डट जिओभी डट एनपी मा राखिएको र डेढ दुई घन्टाभित्र सेवाग्राही कर्मचारीका निवेदनको टुङ्गो लगाउन सकिने भएपनि आवश्यक कर्मचारीको अभाव र मुख्य पदाधिकारीको अस्थिरताले विभागको रुपमा रहेको किताबखाना सुस्ताएको जस्तो देखिएको हो ।

सामान्य प्रशासन मन्त्रालयको एकमात्र विभागको रुपमा रहेको किताबखाना कर्मचारीका लागि कुनै बखत आकर्षक मानिएपनि अहिले कर्मचारीकै अभाव प्रमुख छ भने विभागीय प्रमुखको अस्थिरता पनि अर्को समस्याको विषय बनेको छ ।

एक दशक अघिसम्म ‘मासु चिउरा खाने अड्डा’ भनिने यो कार्यालयमा ९सेवाग्राहीको काम गरिदिएबापत सम्बन्धित कर्मचारीलाई बाहिर क्यान्टिनमा लगेर मासुचिउरा खुवाउने प्रवृत्ति० अहिले भने त्यस्तो स्थिति छैन ।

आफ्नो नाम नबताउने एक कर्मचारी भन्छन् विगतमा यो कार्यालयलाई ‘मासुचिउरा खाने अड्डा’ भनिन्थ्यो रे । बाहिर जिल्लाबाट आएका सेवाग्राहीको निवेदनमा कमीकमजोरी औंल्याएर समयमै काम नगर्ने हुँदा काठमाडौंमा दुईचार दिन बस्नुपर्दाको आर्थिक भार तथा अनावश्यक बिदा खर्चिनुपर्दाको चिन्ताले सम्बन्धित कर्मचारीलाई क्यान्टिनमा लगेर खाजा खुवाउनुपर्ने बाध्यता थियो । तर २०६५ सालमा केन्द्रीय फाइल प्रणालीबमोजिम कम्प्युटरबाटै काम हुन थालेदेखि नै सेवाग्राहीलाई सहज हुन थालेको हो ।

नम्बरका आधारमा सबै कर्मचारीको पूर्ण विवरण भरेर कम्प्युटरमा समावेश गरिएकाले सेवाग्राही कर्मचारीको निवेदन दर्ता भएपछि पट्टा जारी, निवृत्तिभरण, अधिकारपत्र जारीलगायतका काम क्षणभरमै गर्न सकिने भएको हो ।

दैनिक ४०० देखि ७०० सम्मका निवेदन पर्ने सो कार्यालयमा सोही वर्ष कार्यालयमा रहेका १०९ कर्मचारी घटेर अहिले ४९ जनामा सीमित छन् । आधाभन्दा बढी कर्मचारी बाहिरिँदा पनि बाँकी कर्मचारीले प्रोत्साहन भत्ता पाउने आसमा दैनिक कामको बोझ सम्हालेका छन् । कर्मचारी निरास भएपनि सेवाप्रति समर्पित छन् ।

महानिर्देशकको निरन्तर सरुवा किताबखानाका लागि अर्को बोझ बनेको छ । यसै वर्षमात्र पनि छ जनाले महानिर्देशकको स्वागत त्यहाँका कर्मचारीले गरिसकेका छन् । तालुकदार मन्त्रालयको बेवास्ता नै आफ्नो पीडा भएको ती कर्मचारीको गुनासो छ ।

यस्तै समस्या छ भवनको पनि । गत वैशाख १२ को भूकम्पपछि किताबखाना भवन अगाडिको प्राङ्गणमा खुम्चिएको छ । अझ कतिपय कागजपत्र भग्नावशेषबाट झिक्न सकिएको छैन । भवन निर्माणसम्बन्धी प्रतिवेदन पेस गरिएपनि स्वीकृत नभएको महानिर्देशक गङ्गाराम गेलालको गुनासो छ ।

समस्याका बाबजुद पनि किताबखानाले दुईचार घन्टामै सेवाग्राहीको काम तमाम गर्दै आएको छ जुन काम विगतमा दुई तीन दिन लाग्थ्यो । सुनसरी–३ का लक्ष्मणकुमार गुरुङ पनि आफ्नो काम छिट्टै भएकोमा दङ्ग छन् । दश वर्षअघि आफूले यस्तै काममा तीन दिन धाउनुपरेको उनको भनाइ छ ।

कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका बागलुङ–२ का उपेन्द्रबहादुर क्षेत्री पनि कार्यालयको कामप्रति सन्तुष्ट छन् । पहिलेको जस्तो समस्या अहिले नभएको उनको बुझाइ छ ।

किताबखानाले छिटो काम सम्पन्न गर्न सक्नुको मुख्य कारण हो कर्मचारी सबै कम्प्युटरमैत्री हुनु । सात वर्ष अघि एसियाली विकास बैंकको सहयोगमा राखिएका कम्प्युटरमा सबै कर्मचारीको विवरण सुरक्षित छ ।

आगामी दिन कागजविहीन विभागका रुपमा बनाउने सोचाइमा रहेको किताबखानाले दुई तीन घन्टाभित्रै सेवा प्रदान गर्नका लागि एक कर्मचारीले प्राप्त निवेदनको विवरण कम्प्युटरमा चढाउने, अर्का कर्मचारीले जाँच गर्ने र तेस्रोले पारित गर्ने हुँदा सेवाग्राहीले धेरै कुर्न नपर्ने निर्देशक चोकप्रसाद पौडेल बताउँछन् ।

सम्बन्धित शिर्षकहरु