‘तराईका मुद्दा सम्बोधन गर्न सरकार तयार भएन’

upendra-yadavमोरङ, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको बताएका छन् ।

बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसको मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरु आन्दोलनमा जान बाध्य हुने बताए ।

अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलनअगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रहसमेत गरे । सीमाङ्कन, सङ्घीयताको स्वरुप तथा प्रदेशको क्षेत्राअधिकारलगायतका विषय मोर्चाको मुख्य माग रहेको उनले बताए।

अध्यक्ष यादवले मधेसको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए। उनले जनताको चाहना र भावनाअनुसार मधेसको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउनुभयो । मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको पनि उनले बताए ।

मधेसको मुद्दा नमिलेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि मधेसी मोर्चा सहभागी नहुने उनले बताए । उनले काँग्रेसको महाधिवेशनबाट आएको नेतृत्वले मधेस समस्या समाधान गर्ने कुरालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

उनले मधेसका मुद्दा सम्बोधन गर्ने विषयमा कांग्रेसका नवनिर्वाचित पार्टी अध्यक्षले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नसमेत आग्रह गरे ।

सम्बन्धित शिर्षकहरु