कांग्रेस केन्द्रीय सदस्यको मतगणनाः शीर्ष २५ मा युवा नेताहरुको बर्चश्व

congressvotecountललितपुर, नेपाली कंग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत खुल्ला तर्फ केन्द्रिय सदस्यको मतगणना ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । खुल्लातर्फ २५ जनाको कोटामा ९० जना प्रतिस्पर्धामा छन् ।

बिहान १० बजेबाटै मतगणना सुरु गर्ने भनिएपनि प्रतिनिधि विवादका कारण ढिला गरी सुरु भएको हो । मतगणना प्रोजेक्टरमा देखाउने सहमति भएसँगै प्रतिनिधि विवाद भने अन्त्य भएको थियो । ९० जनाकै मतगणना गर्नुपर्ने भएकाले अन्तिम नतिजा कति समयमा आउँछ भन्ने यकिन नभएको निर्वाचन समितिले जनाएको छ । समिति, उमेद्वार र कांग्रेस नेताहरुबीच २५ भन्दा बढीलाई मतदान गरिए बदर हुने सहमति भएको छ ।

पछिल्लो मतगणना अनुसार १०० मतको गणना सकिदा शीर्ष २५ मा युवा नेताहरुको बाहुल्यता बढी छ । प्रकाशमान सिंह, प्रदीप पौडेल, शेखर कोईराला, बिलेन्द्र निधी, मिनेन्द्र रिजाल, नारायण खड्का, बिश्वप्रकाश शर्मा, सुजाता कोईराला, उदयशमसेर राणा, एनपी साउद, बद्री पाण्डे, प्रकाशसरण महत, रामहरी खतिवडा, गोबिन्दराज जोशी, गोपालमान श्रेष्ठ, डिना उपाध्याय, जिपछिरिङ लामा लगायतले सुरुवाती अग्रता लिएका छन् ।

५०–५० को बिटो बनाएर मतगणना भईरहेको हो । केन्द्रीय सदस्यका लागि गत आईतवार भएको मतदानमा ३ हजार १ सय ४८ जनाले मतदान गरेका थिए । सुल्ला तर्फको केन्द्रीय सदस्य सहित ६१ पदको नतिजा आउन बाँकी छ । जसका लागि ३ सय २ जना प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोईराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी हुनु भएको छ । ती तीन पदका लागि १० जनाको उमेद्वारी परेको थियो ।

खुल्लातर्फको गणना सकिएपछि आरक्षित तर्फको मतगणना सुरु गरिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । तीन दिनभित्र सम्पूर्ण पदको मतगणना कार्य सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ ।

सम्बन्धित शिर्षकहरु