अखिलको अध्यक्षमा नविना लामा विजयी

nabina-lama-660x330फागुन १० । काठमाडौं, नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २२ औँ महाधिवेशनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । लामा प्रतिद्वन्द्वी दीपक गौतमलाई २ सय १६ मतले पछि पार्दै अध्यक्ष विजयी भएकी हुन् ।

लामाले ८ सय ६५ मत पाइन भने गौतमले ६ सय ४९ मत ल्याए । २० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशील नविना अखिलको दोस्रो महिला अध्यक्ष बनेकी छिन् । यसअघि रामकुमारी झाँक्री अखिलको पहिलो महिला अध्यक्ष बनेकी थिइन् ।

उपाध्यक्षमा लामा प्यानलकै महेश बर्तौला, रश्मी आचार्य, शैलेस लामा र सुनिता बराल विजयी भएका छन् । बर्तौलाले ७ सय ८६ , आचार्यले ७ सय ४२, लामा ६ सय ८२ र बरालले ७ सय २१ म्त ल्याएर विजयी भएका हुन् ।

यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए । उनले गौतम प्यानलका अब्दुलहुसेन खाँलाई पराजित गरेका हुन् । महरले ८ सय ३१ मत प्राप्त गर्दा हुसेनले ६ सय ६० मत ल्याए । सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन् । तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन् । कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन् ।

यस्तो छ लामाको राजनीतिक यात्रा
लामा अनेरास्ववियुको महेन्द्र मावि मादनकुँडारीको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचित नेतृ हुन् ।

उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव समेत बनिसकेकी छन् । महासचिव लामा १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । काठमाडौंको बानेश्वर क्याम्पसमा उच्च शिक्षा अध्ययन सुरु गरेकी नविना ०६० सालको स्ववियु निर्बाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचित भएकी थिइन् । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापति बनेकी उनी अनेरास्ववियुको १४ औँ, १५ औं र १६ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित भइन् । १७ औँ सम्मेलनबाट अखिलेको केन्द्रीय कमिटीमा आएकी उनी १८ औँ राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

त्यस्तै १९ औं राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा पुगिन् । २१ औं महाधिवेशनमा उपाध्यक्षबाट तल ओर्लिएर महासचिव बनेकी लामा २२ औं महाधिवेशनबाट अखिलको अध्यक्ष बनेकी छन् ।

सम्बन्धित शिर्षकहरु