नयाँदिल्ली, प्रधानमन्त्री केपी शर्मा ओली भारतको छदिने राजकीय भ्रमणका सिलसिलामा शुक्रबार दिल्ली पुगेका छन् ।
उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरे। प्रधानमन्त्री ओलीको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी, यहाँस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
प्रधानमन्त्री ओली विश्रामका निम्ति अहिले राष्ट्रपति भवनमा हुनुहुन्छ । यहाँ रहँदा उहाँ सोही भवनमा रहनेछन् । छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले शुक्रबारैसाँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।








