समाजसेवी पशुपति गुरुङको लकडाउन डायरी

अहिले हामी लकडाउन भित्र छौं । यो संकटकालीन घडीमा हामीले सरकारले आव्हान गरेको लकडाउन भित्र बस्नु नै सबैभन्दा ठूलो देशभक्ति, सबैभन्दा ठूलो मानवीयता र सबैभन्दा ठूलो योगदान हो । कोरोना भाईरस कोभिड – १९ को विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दै सरकारले यसबाट हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका लागि गरेको यो निर्णयलाई पूर्ण समर्थन गर्दै म अहिले घरमै बसिरहेकी छु ।

घरको कामसंगै मैले यस अघि संस्कार समाज नेपालको अध्यक्ष भएकोले संस्थाले नियमित रुपमा संचालन गर्दै आईरहेका कार्यक्रमहरु र म होटल व्यवसायी पनि भएको हुनाले होटलको काममा बराबर लागिरहेकी हुन्थे अहिले लकडाउनका कारण संस्थाका कार्यक्रमहरु पनि स्थगित गरिएको छ र होटल पनि मैले लकडाउन सुरु हुने अगाडि नै बन्द गरिसकेकी थिए ।

 

जसका कारण अहिले मेरो दैनिकी घरभित्रै बितिरहेको छ ।  मेरो घरमा मेरा दुई छोरीहरु, वुवा, आमा र सासू हुनु हुन्छ । ९० वर्षकी मेरी सासु हुनुहुन्छ । ७५ वर्षकी मेरी आमा दुबै मृगौलाको बिरामी हुनुहुन्छ भने ८५ वर्षको बुवा वुवा विगत १९ वर्षदेखि प्यारालाईसिसको विरामी हुनुहुन्छ । म उहाँहरुको सेवामा पहिला भन्दा अझै बढी खटिरहेकी छु । पहिला कार्यव्यस्तताका कारण उहाँहरुलाई दिन नसकेको समय अहिले दिईरहेकी छु ।

लकडाउनले मेरो दैनिकीमा खासै परिवर्तन ल्याएको छैन । मेरो सुत्ने, उठ्ने समय परिवर्तन भएको छैन । जतिसमय मैले घर बाहिर र संस्थाको कार्यक्रमहरुलाई दिन्थे, त्यो पुरै समय अहिले मैले घरभित्र दिईरहेकी छु ।

मलाई के लाग्छ भने बच्चाहरुलाई देखेर धेरै कुराहरु सिक्छन् । हामीले बच्चाबाट धेरै कुराको अपेक्षा गरिरहेका हुन्छौं, तर, त्यस्तै व्यवहार हामीले गरिरहेका हुदैनौ । मैले मेरी सासु, आमा, वुवालाई जे जस्तो व्यवहार गरिरहेकी हुन्छु, भोली मेरा छोरीहरुले पनि त्यही, त्यस्तै व्यवहार सिक्ने छन् र म माथि गर्ने छन् । अहिले मैले आफ्ना छोरीहरुलाई मैले आफूले सिकाउन नपाएका कुराहरु सिर्काइरहेकी छु । अरु समयभन्दा अहिले अलि धेरै घर भित्र बाहिरको सरसफाईमा ध्यान दिएकी छु ।

यो लकडाउनका समयमा हरेक क्रियाकलापमा ध्यान दिनु पर्छ जस्तो लाग्छ । परिवार सबै संगै हुने यो समयमा हाम्रा बालबालिकाहरुलाई राम्रो राम्रो कुराहरु सिकाउनु पर्छ । अहिलेसम्म सिकाउन नसकेका घरका कामहरु, आफूले भन्न नसकेका कुराहरु समय भएको बेलामा सेयर गर्नु पर्छ । हामीले अरुबेला भन्दा यो समयमा अलि धेरै सचेत हुनु पर्छ जस्तो मलाई लाग्छ ।

 

जस्तो कि मैले जे गरिरहेकी हुन्छु, मेरो बच्चाले पनि त्यही सिक्ने छ । यदि यो फुर्सदको समयमा मैले मोवाइलमा धेरै समय विताए भने, मेरा बच्चाहरुले पनि फुर्सदको समयमा मोवाइलमा समय विताउनु पर्ने रहेछ भन्ने ज्ञान हासिल गर्छन ।

त्यसैले घरमा संगै हुँदा हामीले गर्ने हरेक क्रियाकलापले हाम्रा बालबालिकाहरुलाई प्रशिक्षित गरिरहेको हुन्छ । यो समयमा त्यो ख्याल गर्नु हरेक अभिभावकको कर्तव्य हो ।

यो दुःखको घडी हो । बाहिर सबै बन्द छ, एकातिर बन्दले धेरै मानिसहरुलाई गाह्रो बनाईरहेको छ । अर्कोतिर कोरोना संक्रमितहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । तर, यो समयमा हामीले धैर्यता गुमाउनु हुदैन । जे छ, जस्तो छ त्यसैमा रमाउनु पर्छ भन्ने लाग्छ । मेरो नेतृत्वमा संस्कार समाज नेपालले विगत तीन वर्षदेखि समाजमा जनचेतना फैलाउने कार्य गर्दै आईरहेको कुरा तपाईंहरुलाई थाहा नै छ ।

अहिले केही संघसंस्थाहरुले, केही पार्टीका भातृसंगठनहरुले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नु भएको देख्छु । सामाजिक सञ्जालमा ठूलो ठूलो स्वरमा राहतको घोषणा गरिरहेको देख्छु । मलाई यी क्रियाकलापहरु चित्त बुझेको छैन ।

जनचेतना पैmलाउने समय हुन्छ । अहिले सरकारले भनेको मान्नु र सामाजिक दुरी कायम गर्नु नै सबैभन्दा उत्तम विकल्प हो । सामाजिक दुरी कायम गर्नु, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै कोरोनासंग लड्ने हतियार हो भन्ने कुराको ज्ञान हुँदा हुँदै पनि सस्तो लोकप्रियताका लागि हामी जनचेतनाका नाममा, राहतको नाममा सस्तो लोकप्रियता कमाउने काम गरिरहेका छौं भने त्यो गलत हो ।

म पहिला जस्तै केही समय मोवाइल इन्टरनेटको प्रयोग गरिरहेकी हुन्छु । आपूmले विगतमा गरेका कार्यक्रमहरुको अडियो, भिडियो सामग्रीहरु जुन अहिलेको समयमा सान्दर्भिक छन् भने त्यो बाड्ने काम गरिरहेकी छ । बेला बेलामा फेसबुक लाइभमा जोडिएर आफूले बुझेका, जानेका कुराहरु सेयर गरेकी छु । सञ्जालमा आउने समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने खालका सामग्रीहरुलाई सेयर गर्ने काम गरेकी छु । प्रविधिको सदुपयोग गरेर जनचेतना फैलाउने खालका गतिविधीहरु हामीले यो समयमा गर्न सक्छौं ।

पशुपति गुरुङ
अध्यक्ष संस्कार समाज नेपाल

सम्बन्धित शिर्षकहरु