काठमाडौं, आइतबार सिंह दरबारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक विना निष्कर्ष टुंगिएको छ । संविधान संशोधन भएपछि पनि मधेशवादीहरु सन्तुष्ट नभएका बेला भएको बैठकले ठोस निर्णय गर्ने अपेक्षा राखिएपछि त्यो पूरा हुन नसकेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे छलफल भएको बताइएको छ । बैठकमा कुनै पनि मतभेद उत्पन्न नभएपनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले बैठक कुनै निष्कर्षमा नपुगको र आइतबार साँझ बैठक पुन बस्ने जानकारी दिए ।
संयन्त्रको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको दाहालले जानकारी दिए ।
नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आइतबार साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराए ।
सरकारको काम कारवाही सन्तोषजनक नभएको भन्दै एमाओवादीले संयन्त्रको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । बैठकमा मधेस आन्दोलन, भारतीय नाकाबन्दी तथा राजनीतिक गतिरोधका विषयमा छलफल भएको थियो ।
मुख्य रुपमा लामो समयदेखिको मधेश आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल केन्द्रित भए प्नि पनि कुनै निष्कर्ष ननिस्केको नेताहरूले बताएका छन् ।
संयन्त्रको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेमकिपालगायतका दलका नेताको सहभागीता थियो ।








