काठमाडौं, वैशाख १२ को विनासकारी भुकम्प र पटक पटकका परकम्पबाट क्षति पुगेका विभिन्न विद्यालयहरूको पुनर्निर्माणको लागि क्यानाडाको क्यालगरी स्थित नेपालीहरूको संस्थाले साथ दिएको छ । क्यालगरी नेपाली कम्युनिटी एसोसिएसनन (सीएनसीए )ले आर्थिक सहयोग प्रदान गरेको विद्यालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो । संस्थाले जनाए अनुसार गोरखा, धादिङ र भक्तपुर गरी तीन जिल्लाका चार वटा विद्यालयले पुनर्निर्माणका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । सीएनसीए ले गोरखाको महेन्द्रलीला उच्च माध्यमिक विद्यालयको दश कोठे भवन निर्माणका लागि पन्ध्र हजार क्यानेडियन डलर प्रदान गरेको छ ।
कुल ५५ लाख नेपाली रुपैयाँको लागतमा बन्ने उक्त परियोजनामा क्यानाडाका अन्य संघ संस्थाहरू गैरआवासीय नेपाली संघ क्यानाडा, लन्डन क्रस (कल्चरल लर्निङ सेन्टर, नेपाल हेरिटेज च्यारिटी फाउन्डेसन र क्यानेडियन नेवा गुठि समेतको सहकार्य छ । संस्थाका अध्यक्ष प्रसन्नमान श्रेष्ठ समेतको उपस्थितिमा विद्यालय भवनको शिलान्यास कार्यक्रम हालै सम्पन्न भएको छ । आगामी ६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने कुरा विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै मेडिकल मर्सी क्यानाडासंगको सहकार्यमा सी एन सी ए ले धादिंगका भुकम्प प्रभावित दुइवटा विद्यालयमा पनि सहयोग प्रदान गरेको छ । स्रोतका अनुसार संस्थाको सहयोगमा नीलकण्ठ नगरपालिका स्थित कालिका प्राथमिक विद्यालय र मैदी गा.वि.स. स्थित संस्कृत उच्च माध्यमिक विद्यालयमा एक एक वटा ४ कोठे भवन निर्माण कार्य हुँदै छन् । यी दुवै परियोजनाको लागि सी एन सीएनसीएले मेडिकल मर्सी क्यानाडामार्फत कुल १५ हजार क्यानेडियन डलर उपलव्ध गराएको छ ।
भुकम्पले क्षतिग्रस्त भक्तपुर स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको लागि सीएनसीए ले लायन्स क्लब अफ काठमाडौँ दरबार मार्ग समेतको सहकार्यमा हालै एक सम्झौता गरी क्यानेडियन डलर १३ हजार उपलव्ध गराएको छ ।
सीएनसीए का कोषाध्यक्ष दिव्य प्रधानका अनुसार नेपालका भुकम्प पीडितलाई सहयोगार्थ संस्थाले कूल एक लाख दश हजार क्यानेडियन डलर आर्थिक संकलन गरेको थियो । पहिलो चरणमा तत्कालिन उद्धार र राहतको लागि क्यानेडियन रेडक्रस, नेपाल सरकारको प्रधानमन्त्री राहत कोष र गैर आवाशीय नेपाली संघ मार्फत सहयोग पठाएको र दोस्रो चरणमा उपयुक्त संस्थाहरुसंगको सहकार्यमा भुकम्प प्रभावित ग्रामिण क्षेत्रका क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सघाउदै आएको कुरा सीएनसीए का महासचिव ऋषि बस्ताकोटीले बताए । महासचिव बस्ताकोटीका अनुसार साधन र स्रोतले भ्याएसम्म संस्थाले यस्तो सहयोग भविस्यमा पनि निरन्तर राख्ने छ ।








