चिम्नी दुर्घटनामा मृतकको सङ्ख्या सात पुग्यो

itaमंसिर २९ । इटहरी,  इटहरी उपमहानगरपालिका–१६ स्थित न्यु जय नेपाल इँटाभट्टामा सोमबार साँझ जलाइराखिएको चिम्नी ढल्दा इँटाभट्टामा कार्यरत सात कामदारको मृत्यु भएको छ ।

अकस्मात् चिम्नी ढलेपछि इँटाभट्टा क्षेत्रमा भागदौड र कोलाहल मच्चिएको भट्टा आसपासका बासिन्दाले बताएका छन् । चिम्नी ढलेपछि भट्टा क्षेत्रमा ठूलो आगोको मुस्लोसहित धुवाँ फैलिएको निकै टाढाबाट समेत देखिएको बताइएको छ ।

त्रुटिपूर्ण ढङ्गले चिम्नी ठड्याएर इँटा पोल्नका लागि आगो लगाइएको अवस्थामा चिम्नी ढलेको र त्यहाँ कार्यरत मजदुरमाथि बज्रन पुग्दा ती कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिए।

मृत्यु हुनेमा भारत विहार घर भएका कामदार ५० वर्षीय गरिबलाल पासवान, ३५ वर्षीय मिथिलेश पासवान, १६ वर्षीय सलुन मिया, १५ वर्षीय सग्दाम हुसैन र १२ वर्षीय राहुल तथा इटहरी उपमहानगरपालिका १६ एकम्बाकी ६० वर्षीया गलदीदेवी चौधरी र इटहरी २० पकलीका शिवनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।

सबैको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । चिम्नी ढलेर पुरिएको अवस्थामा प्रहरी र स्थानीयवासी तथा एस्काभेटरको प्रयोग गरेर ढलेको चिम्नी हटाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।

सो घटनामा २५ भन्दा बढी कामदार घाइते भएको तथा घाइतेमध्ये १८ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सामान्य घाइतेको पकली भासी झुम्का इनरुवा र इटहरीलगायत क्षेत्रमा रहेका उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु