काठमाडौं, एमाओवादी छाडेर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संविधान रोगले ग्रस्त भएर मरेको जन्मिएको टिप्पणी गरेका छन् । राजधानीको कमलादीमा मधेस, थरुहट, जनजाती आन्दोलनप्रति ऐक्येवद्धता जनाउन आयोजित कार्यक्रममा उनले आफूले नरोकेको भए मंसिर पाँचमै संविधान जारी हुने बताएका हुन् । ‘कांग्रेस एमालेले ल्याएको प्रस्ताव मेरो नेतृत्वमा संवाद् समितिले नरोकेको भए मंसिर पाँचमै जारी हुन्थ्यो’, उनले भने, ‘त्यही संविधान असोज तीनमा जारी भएको हो ।’
उनले संविधान अपूर्ण भएको पूर्ण बनाउनु पर्ने र रोगि जन्मिएकाले भेटिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले मधेस, थरुहट, जनजाती आन्दोलनलाई सम्बोधन गर्नु पर्ने बताए । उनले भने, ‘संविधान संशोधन गरेर मधेस, थरुहट, जनजातीका माग सम्बोधन गरिनु पर्दछ । यदी त्यसो भएन भने मुलुमा झन् ठूलो संकट निम्तिन्छ ।’
उनले सिकिस्त विरामीलाई डाक्टरले बाँच्दैन भनेर भविष्यवाणी गर्यो भने त्यही डाक्टरले मार्यो भन्ने गरेको सन्दर्भ कोट्याउँदै दूर द्रष्टाले, मौसमविद्ले आँधीको संकटको पूर्वानुमान गर्न सक्ने बताए । उनले कांग्रेस– एमाले जस्ता यथास्थितिवादीको पछि लागेर एमाओवादीको परिवर्तनकारी शक्तिले पनि दीपावली गर्नु, हर्षबढाईं गर्नु लजिज्त भएको बताए ।
उनले अहिलेको सीमांकनले मधेस, थरुहट, मगरात र लिम्बुवान् आदी क्षेत्र निकै मर्कामा परेकोले यो नमिलाई यो संविधान पूर्ण नहुने जिकिर गरे । त्यस्तै समानुपाति र निर्वाचन क्षेत्र पहिले नै सहमति भइसकेको भन्दै भ्रममा नपार्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले माग नबुझेको भनेको तर्फ इंगित् गर्दै माग यही नै भएको बताए । उनले काठमाडौं नतातेसम्मम आन्दोलन पूर्ण नहुने र माग पनि पूरा नहुने दाबी गरे । ‘काठमाडौंलाई तताउनुहोस्, माग बुझाउनु होस्, नचिढ्याउनुहोस्,’ उनको भनाई थियो ।
सामाजिक सञ्जालमा आफूहरूलाई भारतपरस्त भनेको उल्लेख गर्दै नेपालका शासकले भारतका के कुरा मान्छु भनेका थियो त्यो प्रष्ट पार्नु पर्ने बताए । नेपालको समस्यामा भारत पछाडी आएका बताउँदै हिजोको शासककै कारण नेपालको राजनीतिमा भारत छिरेको बताए । ‘हामीलाई भारतपरस्तको आरोप लगाइएको छ । म भन्न चाहन्छु, मेरा पूर्व नेता पुष्पकमल दाहाले भारतलाई के आश्वासन दिनु भएको थियो र आज पूरा गर्न सक्नु भएन ? शेरबहादुर देउवजीले के कुरा मान्छु भन्नु भएको थियो, त्यो भनिदिनु पर्यो?’, उनले भने । उनले नेपाल– भारत सम्बन्ध कूटनीतिक तवरले समाधान गर्नु पर्ने भन्दै जोरी खोज्न नहुनुे उनको तर्क थियो । उनले औषधिजन्य सामग्रीहरू रोक्न नहुने तर्फ आन्दोलनकारीहरूलाई सचेत गराउँदै भने, ‘म पनि धर्नामा बस्न तयार छु । काठमाडौंमा बस्ने शासकलाई विउँझाऔं । सवै संयमित बनौं । आन्दोलनमार्फत माग पूरा गरौं ।’








