भूकम्पपछिको जनजीवनका बारेमा सिन्धुपाल्चोकमा अन्तरक्रिया

man-collecting-thingsमंसिर  १५। मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको चौतारामा भूकम्पपछिको जनजीवन, क्रियाकलाप, चुनौती र सम्भावना विषयमा सोमबार भएको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो मेलम्चीको आयोजना तथा मोबाइल सिटिजन हेल्प डेस्क एकाउन्टविलिटी ल्याबको समन्वयमा कार्यक्रम भएको हो । जिल्लाका १० गाविसमा मोबाइल सिटिजन हेल्प डेस्कले भूकम्पपीडितको अवस्थाबारे डाटा सर्वेक्षण गर्दै आएको थियो । सर्वेक्षणका आधारमा भूकम्पपीडितलाई विभिन्न सङ्घसंस्थाले गरेको काम र सस्ंथाको सहयोगको आश्वासन तथा भ्रम जिल्लावासीमा रहेको हेल्प डेस्कका जिल्ला संयोजक दिनेश थापाले बताए ।

कार्यक्रममा भूकम्पपश्चात् शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाको अवस्था, पुनःनिर्माणमा विभिन्न सङ्घसंस्थाले गरेको काम र सहयोगप्रति स्थानीयवासीको धारणाबारे छलफल भएको थियो ।

गैरसरकारी महासङ्घ संस्थाका सदस्य सोम सापकोटाले जिल्लाका भूकम्पपीडितले सङ्घसंस्थाले गरेको कामप्रति विश्वस्त नभएको अवस्थामा भूकम्पपीडितले राहतको महसुस गर्ने गरी पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिए।

महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि नानीमैया बस्नेतले आपत्कालीन अवस्थामा महिला तथा बालबालिकाको सुरक्षाका लागि उद्धार केन्द्रसमेत सञ्चालनमा ल्याएको र दुई हजार ५०० सुत्केरी, गर्भवती तथा वृद्धवृद्धालाई राहतको महसुस हुने गरी राहत सामग्रीसमेत वितरण गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले कुनै पनि गैरसरकारी संस्थाले भूकम्पपीडितका लागि घर निर्माण गर्ने भन्ने जानकारी नआएकाले झुटो भ्रमका पछाडि नलाग्न भूकम्पपीडितलाई आग्रह गरे ।

जिल्लाका भूकम्पपीडितलाई हिउँद सुरु भएसँगै व्यवस्थित तथा सुरक्षित वासस्थानको समस्या भएको भन्दै उहाँले सरकारबाट जाडोयामलाई मध्यनजर गरी केही सहयोग आउने जानकारी गराए।

कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख विश्व अधिकारीले प्रहरी सबैको साथी भएकाले सुरक्षाको क्षेत्रमा सधैँ जनमानसमा सुरक्षाको महसुस गराउने बताए।

सम्बन्धित शिर्षकहरु