ताप्लेजुङ, नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले मुलुकमा पछिल्लो समयमा देखिएका समस्या समाधानका लागि संविधान संशोधन नै अन्तिम विकल्प भएको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता आचार्यले मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीबाट उत्पन्न समस्याकोे समाधानका लागि संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने विकल्प अघि सारेका हुन्।
संविधान संशोधन प्रक्रियाबाट नै सबै क्षेत्रका मागलाई सम्वोधन गर्न सकिने भएकाले सरकार र आन्दोलनरत दललाई संसद्मा दर्ता विधेयक अघि बढाउन उनले आग्रह गरे । भारतीय नाकाबन्दीसँगै तराईमा मधेसकेन्द्रित दलले आफ्ना माग अघि बढाएर आन्दोलन चर्काउँदा आन्दोलनलाई भारतसँग जोडेर हेर्नु स्वाभाविक हो भन्दै उनले मधेस आन्दोलनका सवालमा सरकार गम्भीर हुने हो भने नाकाबन्दी आफैं हट्ने जिकिर गरे ।
सैद्धान्तिकरुपमा संविधान निर्माणका क्रममा बाहिर रहेका दल नै अहिले सरकारमा सहभागी भएको भन्दै उनले विषयवस्तुलाई गोलमाल गरेर थप सङ्कट ननिम्त्याउन मधेसकेन्द्रित दलसँग आग्रह गरे ।








