राजदूत रेलाई देश निकाला गर्न सांसदहरूको माग

Ranjit_ray_477639847_563327806काठमाडौं, सत्तारुढ दल एमालेकै सांसदहरुले भारतीय राजदूत रनजित रेले कुटनीतिक मर्यादा विपरित क्रियाकलाप गरेको आरोप लगाउँदै उनलाई तत्काल देश निकाला गर्नुपर्ने माग गरेका छन्।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै एमाले सांसद यज्ञराज सुनुवार र गौरी ओलीले भारतीय राजदूत रेले आफ्नो पदीय जिम्मेवारी र कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिएर मधेस आन्दोलनको प्रवक्ता जस्तै भएको आरोप लगाउँदै उनलाई फिर्ता पठाउनु पर्ने माग गरेका हुन्।

‘राजदूतले दुईदेशको कुटनीतिक सम्बन्ध बलियो बनाउन भूमिका खेल्नु पर्नेमा अहिले भारतीय राजदूत रेले मधेस आन्दोलनको प्रवक्ता जस्तो गरी भाषण गर्दै हिडिरहनु आपत्ति जनक कार्य हो,’ सांसद सुनुवारले आक्रोशित हुँदै भने।

‘राजदूतको काम अर्को देशको आन्तरिक मामिलामा भाषण गर्दै हिड्ने होइन’, अर्की एमाले सांसद ओलीले भनिन, ‘यदि पदीय मर्यादामा राजदूत बस्न सक्दैनन भने उनलाई सरकारले देश निकाला गर्नुपर्छ।’

एमालेकै अर्का सदस्य युवराज ज्ञवालीले घुमाउरो भाषामा राजदूतको क्रियाकलाप प्रति असन्तुष्टि व्यक्त गर्दै सबैले आफ्नो पदीय जिम्मेवारी र मर्यादामा बस्नुपर्ने धारणा राखेका थिए।

संविधानका विभिन्न विषयमा असन्तुष्टि जनाउँदै मधेसवादी दलले जारी राखेको नाकाबन्दी र आन्दोलनको कारण मुलुकले बेहोर्नु परेको असहज परिस्थितीबारे छलफल गर्न बसेको राज्य व्यवस्था समिति बैठकमा सुनुवारले सरकारको कार्यशैलीको पनि विरोध गरेका थिए।

उनले जनता नाकाबन्दीको मारमा परेको बेला जनताको समस्या समाधान गर्न केन्द्रीत हुनु पर्नेमा सरकारका व्यक्तिहरू भाषण गर्नमा व्यस्त रहेको आरोप लगाए। उनले भने, ‘सरकारले जनतालाई राहत दिन काम गर्ने हो भाषण गर्दै हिड्ने होइन, भाषण गर्ने काम प्रतिपक्ष दल र अरु नेताहरुको हो।’

त्यसैगरी सुनुवारले मधेसवादी दलका नेताहरुले मधेस आन्दोलनमा मृत्यु हुनेहरुका लागि ५० लाख दिने घोषणाले पनि आन्दोलन चर्किएको भन्दै त्यो रकम कुन स्रोतबाट दिने हो त्यसको राज्यले छानविन गर्नु पर्ने माग गरे।

भूकम्पको पीडा खेपिरहेका पहाड र हिमालका भूकम्प पीडितहरुलाई मधेसवादी दलको आन्दोलनले थप पीडा र दुःख दिएको पनि उनले आरोप लगाए।

सम्बन्धित शिर्षकहरु