कात्तिक २५ । काठमाडौं, नेपाली साहित्यका महान् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बुधबार एक सय सातौं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
उनको विक्रम संवत १९६६ साल कार्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्म भएको थियो ।
१० वर्षको कलिलो उमेरदेखि नै कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक समेत हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी, प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारीता झल्कन्छ ।
भारतीय विद्वान राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रुपसँग तुलना गरेका थिए ।
यस्तै नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल र पागल कवितासँग तीन पटक जन्मेको टिप्पणी गरेका थिए ।
विक्रम संवत २०१६ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले नेपालभर नेपाली भाषालाई अनिवार्य पठनपाठन गराउने व्यवस्था गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा योगदान दिएका थिए । त्रिभुवन विश्वविद्यालय स्थापना गर्न पनि उनको महत्वपूर्ण योगदान छ ।








