कात्तिक २४ । काठमाडौं, यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। आजै नरक चर्तुदशी पनि मनाउने गरिएको छ।
नरक चर्तुदर्शीमा बिहान घाम उदाउनुभन्दा अगाडि र तारा नअस्ताउँदै शरीरमा तेल घस्ने र अपामार्गको काँडा, पात, जरा र माटोसहितको बिरुवालाई आफ्नो टाउको वरिपरि घुमाएर नरक पन्छ्याएर फाली नुहाएपछि पाप र रोगव्याधी नास हुने धार्मिक ग्रन्थमा उल्लेख रहेको बताइन्छ ।
कुकुर घर पालुवा जनावर हो। घर पालुवा जनावरमध्ये कुकुरलाई मानिसको परम मित्रका रूपमा पनि लिने गरिन्छ।
हरेक प्राणीले चौरासी जुनी फेर्नुपर्छ भन्ने धार्मिक कथन छ। जस अनुरूप कुकुर अन्तिम जुनी हो र त्यसपछि मान्छेको हंश लिन्छ भन्ने मान्यता रहिआएको छ।
तन्त्रशास्त्रमा ६४ वटा भैरव हुन्छन्। भैरवको वाहनको रूपमा कुकुरलाई लिइन्छ।
भैरवको अर्थ भयरहित अर्थात् डर नभएको भन्ने बुझिन्छ। यस्ता देवताको वहान भएकाले पनि कुकुरलाई पुज्ने गरिएको हो।
सनातन धर्ममा वैदिक प्रणाली, पौराणिक प्रणाली र तान्त्रिक प्रणाली गरी तीन प्रकारको जीवन प्रणाली हुन्छन्।








