काठमाडौँ, निरन्तर ओरालो लागेको नेप्से परिसूचकमा यो साता केही सुधार भएको छ ।
नेपाल–भारतको सीमा क्षेत्रमा भएकोे पारवहन असहजताका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण पुँजी बजारमा पनि त्यसको नकारात्मक असर परेको हो ।
गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २९.०१ अङ्कले ओरालो लागेको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३८ अङ्कले उकालो लागेर अन्तिम दिन १०९०.६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनी छ हजार २८४ कारोबारबाट रु ९२ करोड ५९ लाख १५ हजार बराबरका १८ लाख ३८ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.१२ प्रतिशत बढि हो ।
गत साता ११६ कम्पनीको कारोबार भएको थियो । जस अनुसार पाँच ६४७ कारोबारबाट रु ८० करोड ४४ लाख ३५ हजार बराबरका १३ लाख २७ हजार दुई सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक समुहको परिसूचकमा २.६७, वित्तको १.९४ र होटल समुहको पाँच अङ्कले ओरालो लागेको स्टक एक्सचेन्ज लिमिटेडले उल्लेख गरेको छ ।
त्यस्तै विकास बैंक समुहको १.७२, जलविद्युत कम्पनीको ४०.०७, बिमा ६.३५, उत्पादनमुलक समुहको परिसूचकमा २६.९८ र अन्य समुहको परिसूचकमा १७.६२ अङ्कले उकालो लागेको छ । तर व्यापार समुहमा कुनै परिवर्तन आएको छैन ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.५६ अङ्कले बढेर २३५.७८ अङ्कमा आईपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा पनि नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा वरुण हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।








