नेप्सेमा नौ अङ्कले गिरावट

nepal_stock_exchangeकाठमाडौँ, गत साता ओरालो लागेको नेप्से परिसूचकले यो साता पनि निरन्तरता पाएको छ । निरन्तरको बन्द हड्ताल र राजनीतिक अस्थिरतका कारण पूँजी बजारमा नकारात्मक असर परेको हो ।

गत साता पहिलो दिनको तुलनामा २१.४२ अङ्कले घटेको थियो । यो साता पनि नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.४१ अङ्कले घटेर अन्तिम दिन ११३४.४७ अङ्कमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीको चार हजार ७५४ कारोबारबाट रु एक अर्ब १८ करोड ५४ लाख १८ हजार बराबरका २१ लाख ७९ हजार २६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४४.५९ प्रतिशत कम हो ।

गत साता १५५ कम्पनीको १० हजार ५७३ कारोबारबाट दुई अर्ब रु १३ करोड ९७ लाख ५१ हजार बराबरका ३७ लाख ६५ हजार २८० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

त्यसैगरी वाणिज्य बैंक समूहको परिसूचकमा १२.११, विकास बैंकमा ८.७८, वित्तमा ०.१३, होटलको १०.३९, बिमा समुहको ६२.३२, उत्पादनमुलक समुहको ३१.७ अङ्कले कमी आएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन ।

उता जलविद्युत् कम्पनी १३.८९ अङ्कले र अन्य समूहको परिसूचकमा ७.०५ अङ्कले सुधार आएको नेप्सेले उल्लेख गरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.९६ अङ्कले घटेर २४५.५७ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो साता फेवा विकास बैंकको पाँच लाख ९४ हजार ५९४ र ज्योति विकास बैंकको पाँच लाख ५४ हजार २६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने स्वरोजगार लघुवित्त विकास बैंक दुई लाख हकप्रद सेयर सूचीकृत भएको छ ।

त्यसैगरी आइएलएफसीओ माइक्रोफाइनान्स एक लाख, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको दुई लाख र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख साधारण सूचीकृत भएका छन् ।

सम्बन्धित शिर्षकहरु