काठमाडौँ, नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री निर्वाचनको प्रतिस्पर्धालाई बिर्सिएर नेपाली काँग्रेस र एमालेबीच अझै सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
ऐक्यवद्धता मासिक ट्रस्टले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले देशको विषम परिस्थतिमा सबैको उत्तिकै भूमिका हुनुपर्ने आवश्यकता औँल्याउँदै भने– “हामीलाई आशा छ काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै एमाले नेतृत्वको सरकारलाई सघाउने छ । ”
सोही कार्यक्रमा पूर्वप्रधानमन्त्री नेपालले सपिला राजभण्डारीलाई ‘उत्कृष्ट गैरआवासीय नेपाली–१४’बाट सम्मान गरे।
रुसको राजधानी मस्कोमा कार्यरत राजभण्डारीलाई विदेशमा नेपालीबीच एकता र आपसी सहयोग प्रबद्र्धन गर्न खेलेको भूमिकाका लागि गैरआवासीय नेपालीको एक संस्था ‘सोलिडारिटी ट्रष्ट नेपाल’ले सम्मान गरेको हो ।
एक अर्को प्रशङ्गमा नेता नेपालले अहिले कम्युनिष्ट बाहुल्य सरकार भए पनि तीन खम्बे अर्थनीतिमा फेरबदल नहुनेमा एनआरएनलाई विश्वस्त हुन आग्रह गरे र भने– “संविधानमा समाजवाद उन्मुख लेखेकै भरमा व्यवसायीले लगानी गर्न डराउनु पर्दैन ।”
काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले विदेशमा बसेर पलाएको नेपाली राष्ट्रवादको बोधलाई स्वदेशमा आएर लागू गर्न एनआरएनलाई आग्रह गरे ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका युवा नेता युवराज चौलागाईं, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईलगायतले देशमा लगानी गर्न चाहने एनआरएनलाई राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।








