काठमाडौँ, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा नेपाल–भारत वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिन आज नयाँ दिल्ली प्रस्थान गरे ।
तीनदिने सो बैठकमा दुई मुलुकको वाणिज्य तथा आपूर्तिका विविध विषयमा छलफल हुनेछ । नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नयाँ दिल्लीमा हुने बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखापरेका अवरोधका विषयमा भारतीय समकक्षी एवम् अन्य उच्च राजनीतिक नेतृत्वसँग वार्ता गर्ने जानकारी दिए।
उनका अनुसार संविधानसभामार्फत जारी भएको नेपालको नयाँ संविधानबारे भारतीय उच्च राजनीतिक नेतृत्वसँग कुराकानी हुने छ ।
मन्त्री थापाले भारतीय सीमा क्षेत्रमा देखापरेका अवरोधलाई संवादका माध्यमबाट हल गर्न सकिने विश्वाससमेत व्यक्त गरे।
नेपाल र भारत दुवै विश्व व्यापार सङ्गठन तथा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टाका सदस्य मुलुक हुन् ।
मन्त्री थापा यही १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।








