भक्तपुर, नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले मधेसको समस्या केही दिनभित्रै समाधान हुने दाबी गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ भक्तपुरले नेपालको संविधान, २०७२ जारी भएको खुसियालीमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले भारत र नेपालबीचको समस्या र मधेसवादी दलहरुबीचको समस्या समाधान गर्न पहल भइरहेको उल्लेख गरे ।
विश्वकै इतिहासमै सबभन्दा बढी मत प्राप्त भएको समावेशी, समानतामूलक नमुनाको संविधान नेपालले जारी गरेको बताउँदै उनले संविधानको विरोध गर्नुको कुनै तुक छैन भने।
भारतले अघोषित नाकाबन्दी गरेको विषयमा कूटनीतिक तवरबाटै छलफल गरेर समस्याको समाधान गर्न लागेको उनको भनाई थियो ।
कार्यक्रममा काँग्रेसका पूर्व जिल्ला अध्यक्ष महेश श्रेष्ठ, तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थ, नेपाली काग्रेसका भक्तपुर क्षेत्र नं. १ का सभापति कृष्णलाल भँडेल, नेविसंघ जिल्ला अध्यक्ष उद्धव खड्का लगायतले भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको भत्र्सना गर्दै तत्काल नाका सूचारु गर्न माग गरे।
यसैगरी नेपाल वोतल वाटर उद्योग संघको आज सम्पन्न चौथौं अधिवेशनले सर्वसम्मत रुपमा सुवास भण्डारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा कृष्णभाई ज्याख्वा, द्धितिय उपाध्यक्षमा सजनलाल प्रधान, महासचिवमा मधु घोरासैनी, कोषाध्यक्षमा मेघनाथ चौलागाई र सचिवमा राजु खड्का, सहकोषाध्यक्षमा पुष्पलाल श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा शिवराज थापा, नवराज नगरकोटी, सुदिप अधिकारी, विनोद बस्नेत र भरत वुढाथोकी चयन भएका छन् ।








