असोज १० । काठमाडौँ, एकीकृत नेकपा माओवादीले पार्टी परित्याग गर्नुभएका डा बाबुराम भट्टराईलाई आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले संविधान जारी भएको अवस्थामा राष्ट्रिय समस्यालाई समाधान गर्न पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बेलामा पार्टी परित्याग गर्ने निर्णय कुनै पनि कोणबाट नमिल्ने भएकाले त्यसलाई पुनःविचार गर्न डा भट्टराईलाई आग्रह गर्ने निर्णय गरेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डताको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध भएर जाने बेलामा जुन प्रकारको निर्णय वरिष्ठ नेता डा भट्टराईको निर्णयले आशङ्का पैदा गरेको भन्दै निर्णय पुनःविचार गर्न आग्रह गरिएको बताए।
बैठकमा डा भट्टराई पक्षीय भनेर चिनिएका सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेलको सहभागिता रहेको थियो । स्थायी समिति बैठकले आज दिउँसो २ बजे बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनलगायतका विषयमा समेत छलफल भएको थियो ।
एमाओवादीका वरिष्ठ नेता डा भट्टराईले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।








