असोज ९ । मोरङ, भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आएका एक हजार ५०० मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् ।
विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक्ष परासरको भनाइ छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, “भारतीय पक्षले मालबाहक सवारी अवरोध नगरेको बताइरहेका छन् । तर बुधबार बिहानैदेखि मालबाहक सवारी नेपालतर्फ आएका छैनन् ।” बस्नेतका अनुसार भन्सार अवरुद्ध हुँदा दैनिक रु पाँच करोड १७ लाख राजस्व गुम्दै आएको छ ।
विराटनगर नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तेललगायतका दैनिक १५० मालबाहक ट्रक नेपालतर्फ आउने गरेका छन् । नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हुँदै फारबिस गञ्जसम्म लाइन लागेको अध्यक्ष परासर बताउँछन्।
विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तेल, कच्चा पदार्थ पेट्रोल, डिजेललगायतका दैनिक ३०० सम्म मालबाहक ट्रक र ट्याक्टर आउने गरेका छन् । चालीस दिनसम्मको बन्दमा पनि १२५ सम्म मालबाहक सवारीसाधन आउने गरेको तर तीन दिनयता एउटासमेत मालबाहक सवारी नेपाल प्रवेश गर्न पाएको छैन ।








