काठमाडौँ, नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले तराईमा आन्दोलनरत दललाई आन्दोलन छाडी वार्तामा आउन पुनः आग्रह गरेका छन् ।
नेकाका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पार्टी कार्यलय सानेपा गई खासगरी नयाँ संविधानको सीमाङ्कन र सङ्घीयताप्रति असन्तुष्टि जनाई तराईमा आन्दोलनरत सङ्घीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलका शीर्ष नेतासँग सो आग्रह गरे ।
सो मोर्चामा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक आबद्ध रहेका छन् । मोर्चाको बैठक जारी रहँदा तीन दलका शीर्ष नेताहरु त्यहाँ पुगेका थिए ।
संविधान जारी गर्ने अन्तिम समयमा फोरम लोकतान्त्रिक सो प्रक्रियाबाट बाहिरिएको थियो । असोज ३ गते राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट नयाँ संविधानको घोषणा गरेका थिए ।
तीनदलका शीर्ष नेताले मोर्चामा आबद्ध फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरत्सिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलाई वार्ता र संवादका माध्यमबाट तराईमा उठेका मागलाई सम्बोधन गर्न आफूहरु तयार रहेको जानकारी दिएका थिए ।
छलफलपछि नेकाका सभापति कोइरालाले आफूहरु वार्ता र संवादका माध्यमबाट नयाँ संविधानमा तराई मधेस, थारु समुदाय एवम् अन्य असन्तुष्ट पक्षबाट व्यक्त असहमतिलाई सम्बोधन गर्न तयार रहेको जानकारी दिए।
उनले भन्ने – “वार्ता र संवादका माध्यमबाट सहमतिमा पुग्न म यहाँ आएका हुँ ।” प्रधानमन्त्री कोइरालाले असन्तुष्ट पक्षसँग निरन्तररुपमा वार्ता र संवाद भइराखेको जानकारी दिँदै छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे।
नेकाका सभापति कोइरालाले आज नै तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग तमलोपाको पार्टी कार्यालय बिजुली बजारमा द्विपक्षीय भेटवार्ता गरेका थिए
भेटपछि एनेकपा माओवादीका अध्यक्ष दाहालले तीन दल र मोर्चा सहमति नजिक नजिक पुगेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । उनले भने– “संविधान जारी गर्नुपूर्वको अन्तिम समयमा पनि विजयजीसँग सहमतिको नजिकनजिक पुगेका थियौँ । किन सहमति भएन म त्यसतर्फ फर्किन्न चाहन्नँ तर यसपटक सहमति हुन्छ ।”
अध्यक्ष दाहालले संविधानका केही बुँदामा असहमति जनाई तराई मधेस, थारु समुदाय एवम् असन्तुष्ट पक्षले गरेका आन्दोलन अब छिट्टै अन्त्य हुने विश्वास पनि व्यक्त गरे ।
एमालेका अध्यक्ष ओलीले तराई मधेस एवम् थारु समुदायबाट उठाइएका जायज माग छन् भने यसलाई सम्बोधन हुनेछन् भने । उनले भने – “मलाई विश्वास छ आन्दोलनरत पक्षहरु वार्तामा आउने छन, हामी वार्ताकै माध्यमबाट समस्याको हल चाहन्छौँ ।”








