काठमाडौँ, विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीले पनि नयाँ संविधान जारी भएपछि नेपाली नागरिकता पाउने भएका छन्। संविभानको परिमार्जित विधेयकको धारा १४ मा गैर आवासीय नेपालीले पनि नागरिकता पाउने प्रावधान राखिएको छ। तर उनीहरुले राजनीतिक र संवैधानिक अधिकार भने पाउने छैनन्।
संविधानको परिमार्जित विधेयकको धारा १४ मा ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिसकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवाशीय नागरिकता प्रदान गर्न सकिने उल्लेख छ। सो धारालाई संविधानसभाको बहुमतले पारित गरेको हो।
यता ब्रिटिस नागरिकता सहित ब्रिटिस सेनामा कार्यरत गोरखा सैनिकहरुले भने नेपाली नागरिकता नपाउने भएका छन् । सोमबार संविधानसभा बैठकमा भएको मतदानमा ब्रिटिस नागरिकता सहित ब्रिटिश सेनामा कार्यरत नेपालीलाई पनि नागरिकता दिनुपर्ने संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो । तर, ब्रिटिस सेनामा भर्ती भएर पनि नेपाली नागरिकता नत्यागेका गोरखा सैनिकहरुको हकमा यो लागु हुने छैन ।








