साउन २८ । काठमाडौँ, उपप्रधानमन्त्री वामदेव गौतमले सुृर्खेतमा प्रदर्शनकारी सार्वजानिक यातायातका साधनमाथि आगजनी गर्न उत्रेकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन बाध्य भएर बल प्रयोग गरिएको बताएका छन्।
संविधानको प्रारम्भिक मस्यौदामा असहमति जनाउँदै देशका विभिन्न भागमा भएका प्रदर्शन, सडक दुर्घटना एवम् बाढी पहिरोलगायत जस्ता प्राकृतिक प्रकोपले उत्पन्न गरेका क्षतिका बारेमा आज सदनलाई जानकारी गराउँदै गृहमन्त्री गौतमले सो क्रममा यही साउन २५ गते सुर्खेतमा प्रदर्शनकारीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी कार्यालयमा आगजनी तथा सांसदद्वय पूर्णबहादुर खड्का र हृदयराम थानीको घरमा क्षति पु¥याएको जानकारी दिए।
उनले जुम्लामा समेत प्रदर्शनकारीले स्थानीय सरकारी कार्यालय घेराउ गरी अखण्ड कर्णालीको माग गरेको र सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्न बाध्य भएको बताए । उनले नवलपरासी, बागलुङ, रुकुम, कैलालीलगायत जिल्लामा विभिन्न माग राखी भएको प्रदर्शन र काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि भएको सडक दुर्घटनाका बारेमा समेत जानकारी दिए।
वन ऐन संशोधन गरिँदै
बैठकमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ऐन र वन ऐन संशोधन गर्न लागिएको जानकारी दिए।
उनले सम्भावित पहिरो अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम काम सुरु गरिएको बताउँदै तराईमा नदी नियन्त्रण गर्न तटबन्धमा काम भइरहेकोे छ भने ।
उनले भूस्खलन रोक्न वृक्षरोपणमा स्थानीय समुदायलाई प्रोत्साहन गरिएको, मन्त्रिपरिषद्ले रोक लगाएको गिटी, बालुवा उत्खनन खुला नभएको र वन क्षेत्रलाई समृद्धिका आधारका रुपमा विकास गर्न लागिएको पनि जानकारी दिए ।








