महाकाली नदीमा पानीको बहाव एक लाख ६० हजार क्युसेक नाध्यो

mahakaliअसार ११ । भीमदत्तनगर, बिहीबार बिहानैदेखि भइरहेको अविरल वर्षासँगै पश्चिम महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ ।

वर्षासँगै महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा एउटा घर बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

विसंं २०७० मा आएको विनासकारी बाढीबाट आंशिकरुपमा क्षति पुगेको दार्चुलाको अपि नगरपालिका–११ बङगाबगडमा एउटा घर बगाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवँरले जानकारी दिए ।

त्यसैगरी दार्चुलामा महाकाली नदी किनारमा तटबन्ध निर्माणका लागि राखिएका केही बोरा सिमेन्ट र मिक्चर मेसिनसमेत महाकालीको बाढीले बगाएको खबर आएको उनले बताए ।

महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमीनाका गड्डाचौकी भएर भारत प्रवेश निषेध गरिएको छ । शारदा ब्यारेज ९बनबासा पुल० मा चार पाङ्ग्रे सवारी साधनलाई आवतजावत गर्न बिहानैदेखि निषेध गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।

आज बिहान ६ बजे गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ६० हजार ८८० क्युसेक पुगेको छ । बनबासा पुल जिर्ण अवस्थामा रहेकाले भारतीय पक्षले एक लाख पानीको क्युसेक पुग्नासाथा आवागमनमा रोक लगाउने गर्दछ ।

“धेरै ठाउँमा तटबन्ध बनिरहेकाले अहिले नै धेरै खतराको स्थिति छैन ।” उनले भने “किनारका बस्तीहरूलाई सचेत गराएका छौँ ।”

दार्चुलाकै छाङ्गु प्राथमिक विद्यालयसमेत बाढीका खतरामा परेको छ । विद्यालय छेउमा बिहीबार कटान गर्न थालेपछि त्यहाँ अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुवँरले वर्षा नरोकिएकाले सुरक्षा निकायलाई खटाएर महाकाली किनारका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको बताए ।

सम्बन्धित शिर्षकहरु