काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा एकजुट भएर अघि बढ्नु अहिलेको समयको माग भएको बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सहित अन्य दलखका २४१ जना संसद् सदस्यका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार टेबल गरेको अविश्वासको प्रस्तावमाथिको आजको दोस्रो बैठकको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका छन्।
राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति राष्ट्रको हितमा हुनुपर्नेमा जोड दिँदै उनहाँले दातृ संस्था र जनताको करबाट सङ्कलित राज्यकोषको उपयोग राष्ट्र निर्माणमा लगाउने पद्धतिको विकास गर्नुपर्ने बताए।
उनले स्वतन्त्र न्यायपालिकाको मर्यादालाई कायम गर्नुपर्ने तथा त्यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने र जोसुकै सरकारमा गए पनि त्यसलाई कसैले बिर्सन नहुने बताए।
उनले अन्तर्राष्ट्रिय समझदारीलाई उच्च महत्व दिँदै भावी सरकारले काम गर्ने, भूकम्पपीडितलाई मानवीय संवेदनाका आधारमा सहयोग गर्ने, संविधान कार्यान्वयनमा पनि इमान्दारीपूर्वक लाग्ने, मुलुकको आधा जनशक्ति ओगटेका तराई–मधेसका जनताका समस्या पनि समाधान गर्ने, वार्ताका माध्यमबाट सहमतिमा पुग्ने तथा संविधान संशोधन गर्नुपर्ने भए त्यो पनि गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रजातान्त्रिक पद्धतिमा शान्तिपूर्णरुपमा सरकार परिवर्तन हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्ने विचार व्यक्त गर्दै उनले राज्य सञ्चालनका सबै निकायलाई निष्पक्ष, स्वतन्त्र एवम् पारदर्शीरुपमा राज्य र जनताप्रति जिम्मेवार तुल्याउन अब बन्ने सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।








