रमेश अधिकारी-
गत चैतमा सम्पन्न एसएलसी परीक्षाको परिक्षाफ़ल शुक्रबार प्रकाशित भयो । जसमा जम्मा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइएका छन् । नतिजा अनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । बाँकी ५२.५७ प्रतिशत बिध्यार्थि अनुत्तीर्ण भए या भनौ उनीहरुलाई अयोग्य भईस भनेर परिक्षा नियन्त्रण कार्यालयले ठप्पा लगाइदियो ।
प्रबेशिका परिक्षामा सामेल भएका पाँच लाख ७४ हजार ६ सय ८५ बिद्यार्थी मध्य के पास भयौ भानिएका चानचुन २ लाख मात्र ‘योग्य’ बिद्यार्थी थिए? यदि त्यसो हो भने बहुसंख्याकलाई अयोग्य वा असफल बनाउने हाम्रो शिक्षण प्रणाली अनि ठुलो मात्रामा राज्यले शिक्षामा गरेको लगानी के यो सफल छ ? कि कुरा अर्कै हो?
यो आलेखमा म त्यो विषयमाथि आफ्ना धारणा प्रस्तुत गर्दै छु ।
सर्वप्रथम त हामीले बाराम्बार सुन्दै आएको एउटा वाक्यांश माथि ध्यान केन्द्रित गरौ- “नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना बनेको छ” । अहिले प्रबेशिका परिक्षाको नतिजा आउदा सारा देश तरंगित छ, तर बिश्वबिद्यालयको पढाइ सकेर सर्टिफिकेट लिईसकेपछि अब के गर्ने भनेर चौबाटोमा छटपटाइ रहेको एउटा होनहार युवाको बारेमा देश केहि बोल्दैन न त लेखक हरु केहि लेख्छन । विश्वबिध्यालय हामी कुन बिषय किन पढाइरहेका छौ भन्ने कुरामा अनविज्ञ छ अनि बिद्यार्थी किन पढ्दै छु भेनेर कहिल्लेई सोच्दैन । प्रबेशिका परिक्षामा ‘डीस्टिंगसन्’ ल्याएर ‘साइन्स’ पढ्नेलाई थाह दिइदैन कि उ किन साइन्स पढ्दैछ, मानविकी पढेर के हुन्छ भन्ने मैले कहिल्लेई बुझिन न त कमर्स पढेर मैले के गर्ने भनेर मेरो भाइलाइ थाह छ । हामी पढ्यौ, खुब पढ्यौ किनकि हामीलाई परिक्षा पास गर्नु थियो, ‘राम्रो अंक’ ल्याउनु थियो ।
परिवारको चाहना थियो राम्रो अंक ल्याओस, त्यसकै खातिर पढ्यौ । तर किन पढ्यौ ? न त परिवारले यो बारेमा सोच्यो न त मेरो विश्वबिध्यालायाले न त मैले नै सोचे । जब ‘डीग्री’ पास गरेर सर्टिफिकेट हातमा आयो अनि बल्ल सोच्न थाले मैले के पढे र के सिके? आखिरीमा मैले जीवन उपयोगी सिप केहि सिकेनछु, सिकेछु त केबल कुरा गर्न सिकेछु, परिक्षा पास गर्न मात्र सिकेछु तर आफ्नो जीवन निर्वाह गर्ने शिप त मसंग केहि रहेनछ । अनि म बेरोजगार नभएर को हुन्छ ?
‘म’ पात्र प्रतिनिधि भएपनि यो हालत सबैको साझा हो । अनि त्यो चौबाटोमा उसले देख्ने एक मात्र बिकल्प खाडी बाहेक के हुन सक्छ ? (पैसा धेरै तिरेर युरोप, अमेरिका जाने कुरा अपबाद जस्तै हो ) अनि के हाम्रो जिन्दगीको उर्जाशील समय को २०/२२ बर्ष (बिद्यालय ११ बर्ष अनि कलेज ११ बर्ष) को अनवरत दौड (कहिले पास हुने दौड, कहिले फर्स्ट हुने दौड) को अन्तिम बिन्दु आखिर खाडी हो? किन हामी हाम्रा नानीहरुलाई खाडी पुग्ने बाटोमा दौडाइरहेका छौ? किन राज्य सोच्दैन कि एउटा युवालाई स्वदेशमै स्वरोजगार बनाउन हाम्रो शिक्षा प्रणालीले सकेको छैन?
बुर्जुवा शिक्षा बहिस्कार गर्न लगाउने कम्युनिस्टहरुले पनि बैकल्पिक शिक्षा यस्तो हुन्छ भनेर कहिल्यै देखाउने चेस्टा गरेनन । न तिनले आफु सत्तामा हुदा माथि उल्लेखित प्रश्नको जवाफ दिने प्रयत्न गरे न त हिजो भन्ने गरेको ‘बुर्जुवा शिक्षा’ भित्रकै कमजोरीमाथि बहस चलाउन चाहे । तिनलाई सत्ता मात्र सर्वेसर्वा भयो तर सत्तामा पुगेपछि शिक्षाका क्षेत्रमा ल्याउने आमुल परिवर्तनका कार्यक्रम तिनका लागि गौण बन्यो । तिनिहरु पनि बेरोजगार उत्पादन गर्ने कारखाना कलेज र क्याम्पसहरुलाइ आफ्ना अन्धभक्त ‘बिद्यार्थी नेता’ उत्पदान गर्ने वोर्कसपको रुपमा विकास गर्नमा तल्लिन रहे र सृजनशीलताको हत्या सृंखलाको मतियार बने ।
अघिल्ला बर्षका अनुभव हामीसंग छन्, कि एसएलसीको परिक्षाफ़ल प्रकाशित भएसंगै कैयौले आत्म हत्या गरेका छन् र यो प्रक्रिया यसपाली पनि दोहोरिने छ । तर हामीले कहिल्लेई सोचेनौ कि किन जीवन सिकाउनु पर्ने शिक्षाले किशोर किशोरीलाई मारिरहेको छ? राज्यले कहिल्लेई सोच्ने आवस्यकता महशुस गरेन कि किन उसले शिक्षामा गरेको लगानीले यी किशोर किशोरीलाई फाँसीको फन्दा सम्म पुग्ने बाटो देखाइरहेछ ?
बास्तबमा कसैलाई फेल गराउने र कसैलाई पास गराउने अनि श्रेणी छुट्याएर मान्छेको बर्गिकरण गर्ने ‘ग्रेडिंग’ पद्दति नै खराब छ । हाम्रो शिक्षा प्रणालीले पास हुने अझ राम्रो श्रेणीमा नाम आउने सर्बोत्कृष्ट मान्छे र फेल हुनेहरुलाई नालायक र काम नलाग्ने मान्छे हुन भन्न सिकाएको छ । के बर्षौ देखि पढेको कुरा ३ घण्टामा लेख्न सक्नु मात्रै सफलता वा विफलता तथा उत्कृष्ट र निकृष्टताको कसी बन्न सक्छ ? हाम्रो शिक्षा प्रणालीले ‘फेल’ भएका भनिएकाहरु भित्रको आत्मसम्मान र फरक क्षमतामाथि निर्मम प्रहार गरेको छ । तिनीहरु भित्रका ‘परिक्षामा लेख्न सक्ने’ बाहेकका लाखौ सम्भावनाहरुको ढोका सधैको लागि बन्द गरिदिएको छ । ‘पास’ र ‘फेल’को घृणित खेल खेलेर राज्यले ‘फेल’ भनिएकाहरु भित्र जीवन प्रति नकारात्मकताको बिजारोपण गरेको छ र जीवन बेकार छ भन्ने सम्मको धारणा जबर्जस्ती विकास गरिदिएको छ । एसएलसीमा फेल हुनु कामै नलाग्ने हुनु हो भनेर परिवार, समाज अनि राज्यले चर्को चर्को स्वरमा भनिरहेको छ । फेल भएकालाई बास्तबमै मरु मरु जस्तो हाम्रो शिक्षा प्रणाली, समाज र राज्यले बनाइदिएको छ । जीवन हैन मृत्यु रोज्ने अनि सृजनसिलाताको बाटो हैन प्रतिस्पर्धाको हिंस्रक बाटो रोज्ने बनाइदिएको छ ।
प्रत्यक बर्ष कलिला नानीहरुको हत्या भैरहेको छ तर हामि सबै मौन छौ किनकि परिक्षा नियन्त्रण कार्यालयले प्रत्यक विद्यार्थीको निधारमा लगाइदिने ‘पास’ र ‘फेल’ ठप्पालाइ अनुमोदन गरेर हरेक बिद्यार्थी भित्रको सृजनशीलताको हामी पनि हत्याको मतियार बनिरहेका छौ ।
लेखक अधिकारी सामाजिक अभियन्ता हुन
twitter- @rameshsmit








