काठमाडौँ,सरकारले किसानलाई ऊखुको मूल्य नतिर्दासम्म चिनी उद्योगलाई भ्याट फिर्ता नदिन उद्योग,अर्थ, कृषि र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले ऊखुको समर्थन मूल्य निर्धारण हुन नसकेको र ऊखु किसानले चिनी उद्योगलाई गत वर्ष बिक्री गरेको ऊखुको समेत हालसम्म भुक्तानी नभएको कारण कृषक ठुलो मर्कामा परेको भन्दै सरकारले यस्तो निर्देशन दिइसकेको मंगलबार जानकारी दिए ।
सुवेदीकाअनुसार ऊखुको क्रसिङ सुरु भइसक्दासमेत गत सालकै ऊखुको मूल्य किसानले नपाउनु गलत भएको भन्दै चिनी उद्योगहरुले किसानसँग ऊखु खरिद गर्दा ऊखुको उचित समर्थन मूल्य अनुसारको खरिद गर्ने व्यवस्था गर्नसमेत प्रम कार्यालयले आवश्यक निर्देशन दिएको हो ।
समर्थन मूल्यको आवश्यक व्यवस्था मिलाउन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ, कृषि र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरु सदस्य रहेको समिति गठन गरिएको र सो समितिले उत्पादन लागत, चिनीमा हुने भ्याट फिर्ता एवम् चिनीको बजार मूल्यलगायत आधारसमेतलाई ध्यानमा राखी सरोकार भएका निकायसँग छलफल गरी १५ दिनभित्र ऊखुको मूल्य तोक्न निर्देशन दिइएको सचिव सुवेदीले जानकारी दिए ।
गत वर्षको समेत मूल्य नदिने कुनै पनि उद्योगलाई भ्याटलगायतका कुनै पनि करमा छुट नदिन र आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।








