असोज १२। काठमाडौँ, मधेस र थरूहटमा आन्दोलन सुरू भएको ४५ दिनपछि सरकार र आन्दोलनकारी मोर्चाबीच वार्ता प्रक्रिया सुरू भएको छ । तीन ठूला दलले मधेसी आन्दोलनकारीसँग वार्ता गर्न वनमन्त्री महेश आचार्य, एमाले पोलिटव्यूरो सदस्य अग्नी खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । टोलीले तमलोपा अध्यक्ष महन्थ ठाकुरसित सोमबार बिजुलीबजारस्थित पार्टी मुख्यालय पुगेर भेटवार्ता गरेको छ । अघिल्लो साता राजविराजमा सम्पन्न बैठकमार्फत संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध चार दल, संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना र तमसपाले वार्ताको अगुवाई गर्न ठाकुरलाई अख्तियारी दिएका थिए ।
ठाकुरसँग दुई घण्टा छलफलपछि उक्त टोलीले संघीय लोकतान्त्रिक मोर्चा संयोजक तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई सानेपास्थित निवासमै पुगेर भेटेवार्ता गरेको थियो ।
सोमबार अपराह्न ३ बजे तमलोपा कार्यालय पुगेको वार्ता टोली सदस्यहरूले परिस्थिति जटिल हुँदै गएको भन्दै समाधान खोज्न आग्रह गरेका थिए । ठाकुरले मधेसमा हिंसा र कर्फ्यू जारी रहेको अवस्थामा वार्ता हुन नसक्ने भन्दै स्थिति सामान्यीकरण गर्न पाँच सर्त राखे । ती सर्त मध्ये सेना फिर्ता गरी सशस्त्र प्रहरीलाई ब्याक फोर्सका रूपमा राख्नुपर्ने, मृतकलाई सहित घोषणा गर्नुपर्ने, क्षतिपुर्ति, आन्दोलनका घाइतेको उपचार, क्षतिपूर्ति आन्दोलनकारीका गिरफ्तारको रिहाई र मुद्दा फिर्ता जस्ता माग पूरा गरे वार्तामा आउने भन्दै ठाकुरले बटमलाइन राखे । समाचार आजको कान्तिपुर दैनिकमा छ ।








