बैदेशिक रोजगारीका क्रममा घाइते तथा ज्यान गुमाउनेले प्राप्त गर्ने क्षतिपुर्ति रकम दोब्बर

कात्तिक २, काठमाडौं : नेपाल सरकारले बिदेशमा रोजगारीका सिलशिलामा अंगभंग भएका तथा मृत्यु भएका कामदारलाइ दिने क्षतिपूर्ति रकमलाइ दोब्बर बनाएको छ। विदेशमा मरेका कामदारका आफन्त तथा घाइतेले क्षतिपूर्ति रकम अत्यन्त न्यून भएको गुनासो गर्न थालेपछि सरकारले दोब्बर बनाउने निर्णय बिहीबार गरेको हो। nepali

सरकारको यो निर्णय संगै अब सरकारको अनुमति लिई वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा त्यस्ता कामदारका परिवारले तीन लाख रुपैयाँ आर्थिक सहायता पाउनेछन्। यसघि त्यस्ता परिवारले जम्मा एक लाख ५० हजार रुपैयाँ मात्र पाउने गरेका थिए ।

यस्तै अंगभंग भएका कामदारले पनि अधिकतम तीन लाख रुपैयाँसम्म नै क्षतिपूर्ति पाउने भएका छन्। यसअघि अंगभंग भएका कामदारले अधिकतम एक लाख ५० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने गरेका थिए। अंगभंग हुँदा पाउने रकम भने शारीरिक क्षतिका आधारमा फरकफरक किमिसको रहेको छ।

अंगभंग भएका व्यक्ति र मरेका कामदारका परिवारले सरकारले दिने आर्थिक सहायता रकम ज्यादै कम भएको गुनासो बारम्बार गरेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रकम बढाउन श्रम तथा रोजगार मन्त्रालयमा प्रस्ताव लगेको थियो।सोही प्रस्ताव मन्त्रालयले आवश्यक अध्ययन गरी मन्त्रिपरिषद्बाट पारित गराएको हो। क्षतिपूर्ति रकम बढाउने निर्णय गरिएकाले घाइते कामदार तथा मृत्यु भएकाका परिवारलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।

सरकारले वैधानिक रूपमा गएका कामदारलाई मात्र क्षतिपूर्ति रकम दिने गरेको छ। सरकारी अनुमति नलिई वा गैरकानुनी ढंगले बिदेसिएका कामदारले भने क्षतिपूर्ति वा आर्थिक सहायता पाउँदैनन्।  हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३५ लाख नाघेको छ। अवैध तरिकाले जानेको संख्या पनि २० लाख हाराहारीमा रहेको अनुमान छ। दैनिक औसतमा १५ सय कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन्।

 

सम्बन्धित शिर्षकहरु