सिम्रौनगढका स्थानीय र प्रहरीबीच झडप

असोज २५ । वीरगन्ज,चार दिनदेखि आन्दोलित बारा सिम्रौनगढका स्थानीय र प्रहरीबीच झडप भएको छ।

गण्डक नहरको बाटो मर्मतको माग राखी आन्दोलित स्थानीय गाउँलेले पेट्रोलबम प्रहार गरी प्रहरीचौकी जलाएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताउनु भयो ।

शुक्रबार भएको घटनामा प्रहरीले ७ राउन्ड हवाई फायर गरेको छ।

स्थानीय रामेश्वर मेहताका अनुसार दिउँसो १ बजे सुरु भएको विवादले साँझ उग्र रूप लिएको थियो।

प्रजिअ अर्यालले बिहीबार जिविसको आकस्मिक बैठकको निर्णयअनुसार शुक्रबार बिहानदेखि बाटोमा ग्राभेल बिच्छ्याउन २ वटा टिपर पठाइएको र गाउँलेले एकैपटक १० वटा गाडी खटाएर मर्मत गराउनुपर्ने भन्दै ती टिपरलाई काम गर्न रोकेपछि प्रहरीले हस्तक्षेप गरेको जानकारी दिनु भयो ।
बाटो मर्मतमा अवरोध पुर्यातउने ५ जनालाई नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए। उनीहरूले सशस्त्र प्रहरी बलको गाडी र एउटा यात्रुवाहक बसमा समेत तोडफोड गरेको प्रजिअ अर्यालले जानकारी दिनु भयो ।

नियन्त्रणमा लिएका पाँचै जना विद्यार्थी रहेका र उनीहरूलाई छोड्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेपछि आफूहरू प्रतिकारमा उत्रेको गाउँलेको भनाइ छ।

सम्बन्धित शिर्षकहरु