काठमाडौँ, नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की महान्यायाधीवक्तामा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई आज राष्ट्रपति डा रामवरण यादवले नियुक्ति गरेको बारका उपाध्यक्ष टीकाराम भट्टराइले जानकारी दिए । बिहीबार राष्ट्रपतिसमक्ष उनले सपथ लिने कार्यक्रम रहेको छ ।
ओखलढुङ्गामा जन्मिएका कार्कीले २०४० सालदेखि वकालत सुरु गरेका हुन् । वकालतका क्रममा कार्की बारको केन्द्रीय सदस्य, महासचिव भएर हाल अध्यक्ष थिए।

विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका कार्की नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति समेत भएका थिए। विद्यार्थी राजनीतिक यात्रामा पञ्चायती व्यवस्थाविरुद्धमा आवाज उठाउँदा उनले १८ महिना जेल जीवनसमेत बिताएका थिए।








