भदौ २१, काठमाडौ – राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विषयमा जनमत संग्रह गरिनुपर्ने माग गरेको छ । शुक्रबार बसेको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा उक्त पार्टीले आफ्नो धारणासहितको असहमति पत्र दर्ता गर्दै यो माग गरेको हो ।
पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले संविधानसभाको नियमावलीअनुरूप औपचरिक रूपमा असहमति दर्ता गराउनु भएको हो । पार्टीको विचारलाई स्थान दिनेबारे कुनै पहलकदमी नभएको प्रति दुःख व्यक्त गर्दै राप्रपाले औपचारिक रूपमा असहमति जनाइसकेकाले ती विषयलाई संविधानसभा नियमावली अनुरूप विधि र प्रक्रियाबाट टुंग्याउन माग गरेको छ ।







