भदौ ११ ।काठमाडौँ,संविधानसभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहमतिमा चयन भएकामध्ये समितिका १२ जना सभापतिलाई सभामुख सुवासचन्द्र नेम्वाङले आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
सिंहदरबारस्थित व्यवस्थापिका-संसद सचिवालयमा आज आयोजित समारोहमा सभापतिहरुले पद तथा गोपनीयताको शपथ खाएका हुन ।
संविधानसभाले कार्यारम्भ गरेको सात महिनापछि १४ वटै संसदीय समितिले पूर्णता पाएका छन् ।
संविधानसभामा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहमतिमा समितिका सभापतिको चयनसँगै विकास–निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ ।
व्यवस्थापिका-संसद मातहत ११ वटा विषयगत समिति, एउटा विधायन समिति र दुई विशेष समिति छन् । सुरक्षा विशेष समितिको सभापतिमा सभामुख स्वयम् पदेन रहने व्यवस्था छ भने संसदीय विशेष सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद कुलबहादुर गुरुङ चयन हुनुभएको छ ।
समारोहमा गङ्गा चौधरी (विधायन), प्रकाश ज्वाला (अर्थ), प्रभु साह (अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम), भीष्मराज आङदेम्बे (उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध), सुशीलकुमार श्रेष्ठ (सामाजिक न्याय तथा मानव अधिकार) र गगनकुमार थापा (कृषि तथा जलस्रोत) ले शपथ लिनुभएको हो ।
विकास समितिका सभापति रवीन्द्र अधिकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रन्जुकुमारी झा,
राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती, वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी, सुशासन तथा अनुगमन
समितिका सभापति शेरधन राई र संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले पनि सोही समारोहमा शपथ लिनुभयो । उहाँहरु सबै आजै सर्वसम्मतिले चयन हुनुभएको हो ।








