साउन ५ ।काठमाडौं, प्रथम वाको (डब्लुएकेओ) अन्तर्राष्ट्रिय किक बक्सिङ युनिभर्सिटी च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज सम्मान गरिएको छ ।
टिम प्रशिक्षक राष्ट्रिय किक बक्सिङ संघ नेपालका महासचिव एवं प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका राजनकुमार भुजेललाई पनि सम्मान गरियो ।
जुलाई १२ देखि १६ तारिखसम्म रुसको उफामा भएको उक्त च्याम्पियनसिपमा नेपालले २ रजत र ३ कांस्य गरी ५ पदक जितेको थियो । ४ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पदक जित्न सफल भए ।
दोहोरो पदक जितेका देवराजले लाइट कन्ट्याक्टमा रजत र सेमी कन्ट्याक्टमा कांस्य जिते । धनकृष्ण श्रेष्ठले ७५ केजीमा नेपाललाई अर्को रजत दिलाए । ७१ केजीमा दिवस श्रेष्ठ तथा ५४ केजीमा रमेश गुरुङले कांस्य हात पारेका थिए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामा र राखेपका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच खादा, फूलमाला र टीका लगाइ सम्मान गरे ।








