विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना र जर्मनी भिड्दै

असार २९ । काठमाडौँ,नेदरल्यान्ड्सले ब्राजिललाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

ब्राजिलस्थित ब्रासिलिया रङ्गशालामा गएराति भएको खेलमा नेदरल्यान्ड्सले विश्वकप आयोजक ब्राजिललाई ३-० गोलले हराउँदै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।

गत संस्करणको खेलमा उपविजेता बनेको नेदरल्यान्ड्स यसपटक भने तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा २–४ गोलअन्तरले हार व्यहोरेपछि नेदरल्यान्ड्स तेस्रो स्थानका लागि ब्राजिलसँग भिडेको हो ।

नेदरल्यान्ड्सका फरवार्ड रोबिन भान पर्सीले खेलको सुरुवाती ३ मिनेटमा नै पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोलेका थिए । ३० वर्षीय भान पर्सीले जारी प्रतियोगितामा व्यक्तिगत चार गोल गरेका छन् भने अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उनको गोल सङ्ख्या ४७ पुगेको छ ।

ब्राजिलका कप्तान थिएगो सिल्भाले नेदरल्यान्ड्सका आर्जेन रोबेनलाई डी एरियामा लडाएपछि अल्जेरियन रेफ्री डिजामेल हाइमोउडीले नेदरल्यान्ड्सलाई पेनाल्टीको अवसर दिएका थिए ।

दोहोरो पहेँलो कार्ड खाएका ब्राजिलका कप्तान सिल्भा एक खेलको प्रतिबन्धपछि तेस्रो स्थानका लागि भएको खेलमा पुनः टोलीमा फर्केका थिए ।
नेदरल्यान्ड्सका अर्का खेलाडी डाली बिल्न्टले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्को एक गोल थप्दै अग्रता दोब्बर बनाए । उनले करिब १५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेदरल्यान्ड्सको अग्रता दोब्बर बनेको थियो ।
यसैगरी नेदरल्यान्ड्सका अर्का खेलाडी जर्जिनिओ विज्नाल्डुमले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा थप एक गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को सहज जित दिलाए ।
उनले डारेल जानमाटले दिएको क्रसबललाई सदुपयोग गर्दै गोल गरेका थिए ।

खेलअवधिभर गोल फर्काउन निकै प्रयासरत रहेको ब्राजिल आम घरेलु दर्शकलाई निरास बनाउँदै प्रतियोगितामा चौथो स्थानमै चित्त बुझाउन बाध्य भयो । ब्राजिलले जारी प्रतियोगितामा १४ गोल खाएको छ भने पछिल्लो दुई खेलमा मात्र उसले १० गोल खान पुग्यो ।
यसअघि जर्मनीसँगको सेमिफाइनल भिडन्तमा उसले सात गोल खाएको थियो । भिडन्तमा ब्राजिल जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोर्दै विश्वकप इतिहासमा नै पहिलोपटक सबैभन्दा बढी गोल खाने टोलीका रुपमा चिनियो । सन् १९४० पछिको विश्वकपमा ब्राजिलले लगातार दोस्रो हार भोगेको यो पहिलोपटक हो ।

 

सम्बन्धित शिर्षकहरु