“असल छोरी बन्न सकिन”

बाबा तिम्रा रुढिबादी र संकुचित संस्कारहरुसंग मिल्न सकिन

त्यसैले बाबा, म तिम्रो असल छोरी बन्न सकिन

जति पढे-लेखे पनि म चुलो चौको पस्नुपर्छ रे
आँखा लाउछन रे गिद्धेहरुले त्यसैले म
प्रतिबन्धित सिमा भित्र बस्नु पर्छ रे
हो यस्तै तिम्रा बिचारहरुसंग मिल्न सकिन
त्यसैले दाजु, म तिम्रो असल बहिनी बन्न सकिन

म पढ्नु पर्छ कुलघरानको पति पाउनलाई
मैले काम गर्नुपर्छ सासु ससुरा खुसि बनाउनलाई
हो भाइ, यस्ता तिम्रा सम्झौताहरुमा हस्ताक्षर गर्न सकिन
त्यसैले भाइ, म तिम्रो असल दिदि बन्न सकिन

समाज बिकासका सवालहरुमा म अघि सर्न हुन्न रे
पुरुषले गर्ने कामहरु, मैले गर्न हुन्न रे
हो यस्ता तिम्रा सोचहरु स्विकार्न सकिन
त्यसैले बाबा म तिम्रो असल छोरी बन्न सकिन
त्यसैले म असल छोरी बन्न सकिन

निरु सिवाकोटी । दोलखा

सम्बन्धित शिर्षकहरु