नेपालबाट वार्षिक १० करोडको रौँ निर्यात

भदौं २४,काठमाडौं । नेपालबाट वार्षिक रूपमा झन्डै दश करोड रुपैयाँको रौँ निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार विभिन्न ब्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको हो।

गत वर्ष नेपालबाट बेल्जियम, भुटान, चीन, जापान, दक्षिण कोरिया र नेदरल्यान्डमा नौ करोड ८६ लाख ८८ हजारको रौँ निर्यात भएको तथ्यांक रहेको छ ।नेपालबाट निर्यात हुने रौँ नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँ बनाउन प्रयोग गर्ने गररीएको छ। नेपालबाट रौँ कच्चा पदार्थका रूपमा निर्यात हुने गरेको छ ।

नेपालले आर्थिक वर्ष ०७३९७४ मा मान्छेको कपाल भुटानमा आठ लाख ८४ हजार, बेल्जियम चार लाख ६१ हजार, चीनमा एक करोड ५६ लाख ६७ हजार, जापानमा दुई करोड ८४ लाख ८९ हजार, दक्षिण कोरियामा चार करोड नौ लाख चार हजार र नेदरल्यान्डमा एक करोड २२ लाख ८३ हजार रुपैयाँको निर्यात गरेको छ ।

विदेशबाट नक्कली रौँको आयात घट्दो क्रममा रहेको छ । आव ०७३९७४ मा विदेशबाट नेपालमा वार्षिक २४ हजार रुपैयाँको नक्कली कपाल, दाह्रीजुंगा, परेली, आँखीभौँलगायत आयात भएको भन्सार विभागले जनाएको छ । चीनबाट दुई हजार, भारतबाट १९ हजार र रसियाबाट तीन हजार रुपैयाँको आयात भएको छ ।

आव ०७२९७३ मा एक लाख आठ हजार रुपैयाँको नक्कली कपाल, दाह्रीजुँगालगायत आयात भएको थियो । जसमा भारतबाट ७० हजार, चीनबाट ३१ हजार र इन्डोनेसियाबाट सात हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ

सम्बन्धित शिर्षकहरु