नन्दादेवी ललितकला सम्मान छ जनालाई

काठमाडौं १७ वैशाख –नेपाली ललितकला क्षेत्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सातजना कलाकार, पत्रकार तथा कला संग्रहकर्तालाई सम्मान गरिएको छ । शनिबार वरिष्ठ कलाकार हरिप्रसाद शर्माले एक समारोहका बीच अरुपण आर्ट ग्यालरीमा नन्दादेवी खनाल स्मृति ललितकला सम्मान – २०७३ प्रदान गरे । लाजिम्पाट खोलागालस्थित ग्यालरीमा आयोजित कार्यक्रममा ग्यालरीका संस्थापक कला समीक्षक एवं कलाकार रमेश खनालले आफ्नी माता नन्दादेवी खनालको स्मृतिमा स्थापना सो सम्मान स्थापना गरेका हुन् ।

 

सो सम्मान पाउने व्यक्तित्वमा अग्रज कलाकार प्रो. गोविन्दनारायण ज्यापु, पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठ, कलाकार, कला समीक्षक तथा कला अभियन्ता देवेन्द्र थुम्केली, कला संग्रहकर्ता मोतिरत्न तुलाधर, कमर्शियल कलाकार भरतकृष्ण मर्हजन, कला पत्रकारका रुपमा विनिता मरहट्टा र मिथिला कलाकार पुनम देवी दास रहेका छन् ।

 
कार्यक्रममा अग्रज कलाकार प्रो.गोविन्दनारायण ज्यापुलाई नन्दादेवी खनाल ललितकला लाइफटाईम स्पेशल अवार्डबाट सम्मानित गरियो । नेपाली पौभा कलामा नयाँ धारमा काम गर्दै आएका कलाकार समुन्द्रमान सिंह श्रेष्ठलाई क्रियटिभ अवार्डबाट सम्मान गरियो ।कलाकार, व्यङ्ग्य चित्रकार, कला अभियन्ता तथा कला समीक्षक देवेन्द्र थुम्केलीलाई आर्ट क्रिटिक अवार्ड २०७३ बाट सम्मान गरियो । कला प्रवर्तक मोतीरत्न तुलाधरलाई आर्ट प्रमोट अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी कला डिजाइनर भरतकृष्ण महर्जनलाई कमर्शियल आर्टिष्ट अवार्ड, अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत् कला पत्रकार विनिता मरहट्टालाई आर्ट मिडिया अवार्ड र मिथिला कलाकार पुनम कुमारी दासलाई ट्रेडिशनल मिथिला आर्टिष्ट स्पेशल अवार्ड प्रदान गरिएको थियो ।ग्यालरीका कार्यकारी रिता खनालले नेपाली कलाका क्षेत्रमा योगदान दिइएका व्यक्तित्वलाई सम्मान गरिएको बताइन् ।स्वागत मन्तव्यबाट शुरु भएकोे सो कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्माले पुराना पुस्ताले लगनका साथ जोगाइ राखेको कलालाई नयाँ पुस्ताले प्रचार–प्रसार र पछिल्लो पुस्तासम्म हस्तान्तरण हुने वातावरण सिर्जना गर्नुपर्ने विचार व्यक्त गरे ।

 
सो समारोहमा सम्मानित कला पत्रकार विनिता मरहट्टाले आफ्नो काममा निरन्तर समर्पित भई लाग्दा सम्मानित हुने अवसर पनि मिल्दोरहेछ भनिन् । उनले यो सम्मानले आफ्नो काममा अझ लगनशिल हुन हौसला मिलेको र दायित्व बढेको महसुस गरेको बताइन् ।

अन्य फोटोहरु

सम्बन्धित शिर्षकहरु