नेपाल महिला साफ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं। नेपाल भारतमा जारी चौथो महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । सिलिगुडीमा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा सोमबार आयोजक भारतसँग ३ – १ ले पराजित हुदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

कञ्चनजंगा स्टेडियममा भएको खेलको भारतले ४४ औं मिनेटमा कमलादेवीको गोलबाट अग्रता लिएको थियो । ५९ औं मिनेटमा इन्दूमतिले गोल गरेपछि भारतले अग्रता दोब्बर बनायो । खेलको ७५ औं मिनेटमा पाएको पेनाल्टीलाई सावित्री भण्डारीले सदुपयोग गर्दै नेपालले खेल २ – १ को स्थितिमा ल्यायो । तर, खेल सकिन ६ मिनेट बाँकी रहँदा सुस्मिता मलिकले गोल गरेपछि नेपालको फाइनल यात्रा समाप्त भयो ।

योसंगै साबिकको उपविजेता नेपाल तीन पटकको बिजेता भारतसंग सातौं पटक पराजित हुनपुग्यो । र, नेपाललाई उपाधि जित्नबाट पुन भारतले बन्चित गरायो । महिला साफ च्याम्पियनसिपको अघिल्ला तीन सस्करणमा पनि फाइनलमा नेपाललाई भारतले नै पराजित गर्दै आएको थियो । यसपटक भने नेपाल भारतसंग सेमिफाइनलमा नै पराजित भयो ।

सेमिफाइनलबाट बाहिरिएसंगै नेपाल महिला साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुग्न असफल भयो । यसअघिका सबै सस्करणमा नेपालले फाइनल खेलेको थियो । भारतले अब फाइनलमा अर्को सेमिफाइनल टोलिहरू बंगलादेश र माल्दिभ्सबिचको बिजेतासँग खेल्नेछन् ।

सम्बन्धित शिर्षकहरु