‘एमाओवादीसँग एकताको सम्भावना अन्त्य भयो’

बादलले आत्मसर्मपण गरेका हुन, एकता होईन
35422556-ed46-4a91-ad82-2472d288e88fकाठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताको सम्भावना तत्कालको लागि अन्त्य भएको स्पष्ट पारेका छन ।
बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने ठोकुवा गरे ।
विगतमा सहमति नजिक पुगेपनि एमाओवादीकै नीतिको कारण पार्टी एकता हुन नसकेको उनको आरोप थियो ।
गजुरेलले भने, “हामी सच्चा क्रान्तिकारी कम्युनिस्टहरूबीचको एकता चाहन्छौँ । हामीले पार्टी पुनःगठन गरेको बेलाको भन्दा पनि एमाओवादीको लाइन अहिले अति दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो । उहाँहरुसँग एकताकोलागि अनौपचारिक कुराकानी भएको हो तर उहाँहरुले संविधान निर्माणको सन्दर्भमा १६ बुँदे सहमति गरेपछि त्यो सम्भावनाको अन्त्य भएको हो ।
उनले एमाओवादीले क्रान्तिलाई धोका दिएकोले क्रान्तिलाई जोगाई राख्न आफूहरुले पार्टी पुनःगठन गरेको उल्लेख गर्दै अलग हुँदा एमाओवादी नेतृत्वलाई लालगद्दार भन्नेहरु नै अहिले मिल्न गएको बताए ।
गजुरेलले महासचिव रामबहादुर थापा बादलले एमाओवादीसँग एकता नभई आन्मसमर्पण गरेको आरोप लगाउँदै यो बामपन्थी पार्टीभित्र रहेका दक्षिणपन्थीहरूवीचको एकता भएको दावी गरे ।
उनले भने, “दक्षिणपन्थीहरुको एकताले बामपन्थीहरूको एकताको धु्रविकरण गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नु भएको कथित एकता हो । उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्वीकार गरिसकेको आधार हो ।” गजुरेलले पार्टी एकता मुख्य नेताले सिद्धान्त र कार्यदिशा मिल्दा गर्नु पर्नेमा पार्टीभित्रका केही दक्षिणपन्थी नेताहरुले गर्न लागेकोले यो पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष नै नगईकन एकता हुनै नसक्ने तर्क गरे ।

उनले प्रचण्डले तत्काल पार्टी एकताको सम्भावना नदेखेपछि पार्टी भित्रबाट चोईट्याएर लिएर जान थालेको आरोप लगाउँदै यसले पार्टी एकताको बातावरणलाई झनै बिगारेको दावी गरे ।
बादलमाथिको कारवाहीको जिज्ञासमा गजुरेलले उनले अहिलेसम्म पार्टीको कुनै पनि अनुशासन नमानेको र आफैले लालगद्दार भनेकासँग मिल्न जानेलाई के कारवाही गर्ने भनि प्रश्न गर्दै पार्टीको केन्द्रीय समितिको बैठक अगाडि नै एमाओवादीमा जाने तयारी गरिरहेको बताए ।
उनले भने, “आज भोली नै उहाँहरुको बैठक छ । दुई गतेको केन्द्रीय समितिको बैठककोउहाँहरुले प्रतिक्षा गर्नु हुन्न होला त्यसअघि नै जाने तयारीमा हुनु हुन्छ । उहाँहरुलाई कारवाही गरे कारवाहीकै बेइज्जत हुन्छ ।”
गजुरेलले अब आफूहरु नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने घोषणा गर्दै राज्यले आफूहरुको कुरा जनताका वीचमा राख्न कुनै अवरोध नगरेसम्म हतियार नउठाउने स्पष्ट पारे ।
उनले भने, “अहिले हतियार उठाउने बेला भएको छैन । जनतामा जाने बाटो नरोकिएसम्म हतियार उठाउँदैन । राज्यले दमन गरेर जनतामा जान रोको स्वतह हतियार उठ्छ ।”
गजुरेलले राज्यले जनयुद्धकालिन मुद्दा ब्यूताएर शान्ति प्रक्रिया उल्टाउन खोजेको आरोप लगाउँदै मेलमिलाप नगरी मुद्दा उल्टाउँदै जाने हो भने मुलुक फेरि द्धन्दमा जाने चेतावनी दिए ।
उनले मुद्दा मिल्नेहरुसँग जहिले पनि कार्यगत एकता गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताउँदै मुद्दा मिले माओवादीमात्रै नभई काग्रेस र एमालेसँग पनि कार्यगत एकता हुन सक्ने स्पष्ट पारे ।

सम्बन्धित शिर्षकहरु