पुनःनिर्माण कार्यलाई तीव्रता दिने प्रधानमन्त्रीको प्रतिवद्धता

k|wfgdGqLåf/f >4f~hln k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ laxfg ;'Gwf/fl:yt w/x/f kl/;/df cfof]lht sfo{qmddf ut jif{ j}zfv !@ ut]sf] ljgf;sf/L e"sDkdf k/L lbjªut ePsf g]kfnLx¿k|lt k'iku'R5f ck{0f ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

चौतारा । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिइने बताएका छन् ।

‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको अवसरमा ११:५६ बजेको समयमा चौतारा नगरपालिका–३ स्थित व्यक्तिगत आवासको शिलान्यास गरी पुनःनिर्माण कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

भूकम्पले क्षति पुर्याएका करिब आठ लाख घर निर्माण गर्नुपर्ने चुनौती रहेको चर्चा गर्दै प्रधानमन्त्रीले आगामी पाँच वर्षभित्र निर्माण कार्य सकिने गरी कार्य प्रारम्भ भएकाले सबैलाई धैर्य गर्न आग्रह गरे । उनले पुनःनिर्माण गर्दा वृद्घवृद्घा, बालबालिका, गर्भवती, एकल महिला र अशक्त बसोबास गर्ने घर निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताए।

संयम र दृढताका साथ अगाडि बढेमा आर्थिक उन्नति हुने बताउँदै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशमा विद्युत्, शिक्षा, सडकलगायत हरेक क्षेत्रलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको उल्लेख गरे ।

उनले आगामी बजेटमा कृषिको आधुनिकीकरण, सिँचाइ, मलखाद तथा बीउबिजन किसानलाई सहजरुपमा उपलब्ध गराउने व्यवस्था गरिनेछ भने।

प्राकृतिक विपद्मा कसरी अगाडि बढ्ने भन्ने कानुन नभएको र वर्तमान खरिद ऐन पनि जटिल भएकाले काममा तीव्रता दिन संशोधन गरी सहज तुल्याएकाले आगामी दिनमा पुनःनिर्माण कार्यले तीव्रता आउने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

एक अर्को प्रसङ्गमा उनले अहिले मधेस आन्दोलन र नाकाबन्दी नभएको र भारतसँगको सम्बन्धमा पनि सुधार आएको चर्चा गर्दै आन्तरिक मामलामा कसैको निर्देशन नमान्ने दृढता व्यक्त गरे।

भूकम्पपछि बन्द रहेको तातोपानी नाकालाई व्यापारिक नाकाको रुपमा सुचारु गर्न पहल भइरहेको पनि प्रधानमन्त्रीले खुलासा गरे ।

सो अवसरमा वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पले भौतिकरुपमा भत्काए पनि मानसिकता नभत्केको चर्चा गर्दै भूकम्पकै कारण सबै पार्टी एकजुट भई संविधान निर्माण गर्न सकिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा सांसद अमृतकुमार बोहोराले पुनःनिर्माणको कार्यको अभियानले ढिलै भएपनि सङ्गठित रुपमा थालनी भएकाले यसले तीव्रता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जिल्लाका ९० हजार भूकम्पपीडित परिचयपत्र प्राप्त गरेकामध्ये ८७ हजार ६४९ ले मात्र रु १५ हजार तत्कालीन राहत प्राप्त गरेको र ८५ हजार १७२ ले मात्र न्यानो कपडाको रु १० हजार रकम पाएको जानकारी गराए ।

सो अवसरमा चौतारा नगरपालिका–३ निवासी यदुमाया घोरासैनी र सर्भे तामाङको आवास पुनःनिर्माण सम्झौतापत्र वन तथा भू–संरक्षण मन्त्री सापकोटा र सांसद बोहराले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे ।

आजै सांसद मोहनबहादुर बस्नेतले निर्वाचन क्षेत्र नं १ को कर्थली गाविस र सांसद शेरबहादुर तामाङले निर्वाचन क्षेत्र नं ३ को भोटेचौर गाविसमा व्यक्तिको घरको शिलान्यास गरे ।

त्यसैगरी भूकम्पमा दिगंवत हुनेको सम्झनामा चौताराको टुँडिखेलस्थित पिपलबोटमा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम रहेको छ ।

भूकम्पमा परी देशभर आठ हजार ८९१ को मृत्यु भएको र त्यसमध्ये सिन्धुपाल्चोकमा ४० प्रतिशत अर्थात् तीन हजार ५७० जनाले ज्यान गुमाएका थिए । त्यसमा बेपत्ताको सङ्ख्या आठ र एक हजार ५६५ घाइते भएका थिए ।

सम्बन्धित शिर्षकहरु